राजनीति

राष्ट्रियसभाले दुई विधेयक विधायन समितिमा पठायो

राष्ट्रियसभाले दुई वटा विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ।

राष्ट्रियसभाको बुधबारको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘बीमा विधेयक, २०७५’ र ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६’ लाई दफावार छलफलका लागि सो समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो।

दुवै विधेयकलाई सो समितिमा दफावार छलफलका लागि पठाईयोस् भन्ने प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट कृषि तथा पशुपंक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले बैठकमा पेश गरेका थिए।

अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्णयार्थ प्रस्तुत गरेको उक्त प्रस्ताव बैठकमा सर्वसम्मतिले पारित भएको थियो। राष्ट्रियसभाको अर्को बैठक यही भाद्र ३० गते बिहीबार अपरान्हका लागि बोलाइएको छ।

प्रकाशित: २९ भाद्र २०७९ ०७:४५ बुधबार

राष्ट्रियसभा विधायन व्यवस्थापन समिति ‘बीमा विधेयक २०७५’ र ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६’ गणेशप्रसाद तिमिल्सिना