समितिले आवश्यक परे दोस्रो चरणको निर्वाचन फागुन २४ गते बिहान १० देखि ४ बजेसम्म गराउनेछ । नयाँ नेतृत्वका लागि बिहीबारै मनोनयन दर्ताको कार्यतालिका सार्वजनिक गरिएको छ। महाधिवेशन उद्घाटन हुने दिन बिहान ८ बजेदेखि ५ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । मंगलबारै महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशन गरेको समितिले शुक्रबार ११ बजे उम्मेदवारको पहिलो सूची प्रकाशन गर्नेछ ।
त्यस्तै, उम्मेदवारको वर्णानुक्रम सच्याउन सोही दिन ११ देखि १ बजेसम्मको समय छुट्ट्याएको निर्वाचन समितिले उम्मेदवारमाथिको दाबीविरोधका लागि २ देखि ४ बजेसम्मको समय तोकेको छ ।
त्यस्तै, उम्मेदवारीमाथिको दाबी विरोध र जाँचबुझसहित नामावली प्रकाशन साँझ ६ बजे गर्नेछ । निर्वाचन समितिले फागुन २२ गते बिहान ९ देखि ११ बजेसम्म नामावली फिर्ता लिने समय तोकेको छ । ११ बजेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन समितिका सचिव श्रेष्ठले जानकारी दिए ।
नयाँ नेतृत्वका लागि राष्ट्रिय सभागृहमा निर्वाचन हुनेछ भने सभापति पदको मतगणना सोही स्थानमा, महामन्त्री, कोषाध्यक्षसहित केन्द्रीय सदस्यको मतगणना पार्टी केन्द्रीय कार्यालय, सानेपामा गर्नेछ ।
सभापति, पदाधिकारी, खुला केन्द्रीय सदस्य, प्रदेशबाट निर्वाचित हुने सदस्य, महिला, दलित, जनजाति, मधेसी, मुस्लिमका लागि छुट्टाछुट्टै मतपत्र बनाउनेछ ।
महाधिवेशनले सभापति, महामन्त्री, कोषाध्यक्षसहित ६४ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ जसमध्ये खुलाबाट २५, सात प्रदेशबाट दुई–दुई जना गरी १४, आरक्षणतर्फ महिला ६, दलित, आदिवासी तथा जनजाति र मधेसीबाट ५र५ र मुस्लिमबाट १ जना केन्द्रीय सदस्य चुनिनेछन् । कांग्रेसको १३ औं महाधिवेशन बिहीबारदेखि काठमाडौंमा सुरु हुँदैछ। महाधिवेशन समारोह कार्यवाहक सभापति रामचन्द्र पौडेलले राजधानीको खुलामन्चमा दिउँसो १ बजे उद्घाटन गर्नेछन् भने शुक्रबारबाट भृकुटीमण्डपमा बन्दसत्र हुनेछ ।
तीन सयले दर्ता गरे नाम
नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा सहभागी हुन काठमाडौं आइपुगेका महाधिवेशन प्रतिनिधिले पार्टी केन्द्रीय कार्यालय सानेपामा नाम दर्ता गराउन सुरु गरेका छन् । मंगलबार साँझसम्म ३ सय ३ जना महाधिवेशन प्रतिनिधिले २ हजार रुपैयाँ प्रवेश शुल्क बुझाएर नाम दर्ता गराएका हुन् ।
कांग्रेसले आर्थिक पारदर्शिताका लागि भन्दै प्रवेश शुल्कबापतको रकम बैंकमा जम्मा गर्ने व्यवस्था मिलाएको छ । नेपाल इन्भेस्टमेन्ट बैंकमा रहेको कांग्रेसको खातामा पैसा जम्मा गरेरको भौचरसहित प्रतिनिधिले नाम दर्ता गराएका छन् । बिहान ८ देखि ५ बजेसम्म प्रतिनिधिको नाम दर्ताको व्यवस्था मिलाइएको छ भने बैंकको काउन्टर पार्टी केन्द्रीय कार्यालय, सानेपामै स्थापना गरिएको छ । महाधिवेशनमा देशभर तथा जनसम्पर्क र शुभेच्छुक संगठनबाट गरी झन्डै ३ हजार २ सय महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् ।
भ्रातृ संगठन प्रमुख पनि आकांक्षी
नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठनका अध्यक्षहरु पार्टीको १३ औं महाधिवेशनमा केन्द्रीय सदस्यका आकांक्षी देखिएका छन् । नेपाल विद्यार्थी संघ, तरुण दल, नेपाल महिला संघसहितका भ्रातृ संगठनका अध्यक्ष पार्टी केन्द्रीय नेतृत्वका लागि आकांक्षी बनेका हुन् ।
नेविसंघका अध्यक्ष रञ्जित कर्ण, नेपाल तरुण दलका अध्यक्ष उदयशमशेर राणा, नेपाल महिला संघकी अध्यक्ष डिला संग्रौलासहित भ्रातृ संगठनका अध्यक्ष केन्द्रीय सदस्यको प्रचारमा जुटेका छन् । छ महिनाभित्र अधिवेशन गराउने जिम्मेवारीसहित भ्रातृ संगठनको नेतृत्वमा पुगेका उनीहरुले चार वर्ष हुँदा पनि अधिवेशन गराउन असफल बनेका हुन् । माउ पार्टी कांग्रेसले अधिवेशन गराउन नदिएको आरोप लगाउँदै नेविसंघका अध्यक्ष कर्णले भने, ुहाम्रो कारण अधिवेशन नभएको होइन, पार्टीका नेताहरुले नै अधिवेशन स्थगित गराएका हुन् ।ु
तर, नेविसंघसहित अन्य भ्रातृ संगठनका सदस्य नेतृत्वको नालायकीपनले अधिवेशन नभएको आरोप लगाउँछन् । 'आफ्नो नेतृत्वमा रहेको संगठनको अधिवेशन गराउन नसक्नेले पार्टी हाँक्छु भनेर नेतृत्वका लागि मैदानमा उत्रिनु हास्यास्पद हो ।'
झन्डै एक दशकदेखि भ्रातृ संगठनको अधिवेशन नहुँदा पार्टी केन्द्रीय सदस्यको आकांक्षीको संख्या पनि बढेको छ । लामो समयदेखि पार्टी र भ्रातृ संगठनको कुनै जिम्मेवारी नपाउँदै ४ सयभन्दा बढी कांग्रेस महाधिवेशन प्रतिनिधिले केन्द्रीय सदस्यका लागि आफूलाई प्रस्तुत गर्दै आएका छन् ।
प्रभावशालीलाई आरक्षणको आस
कांग्रेसमा पिछडिएका वर्गका नेता–कार्यकर्तालाई मूलधारमा ल्याउन केन्द्रीय कार्यसमितिमा छुट्ट्याइएको आरक्षित कोटामा पुराना हस्तीले नै उम्मेदवारी दिने भएका छन् । महिला, आदिवासी जनजाति, दलित, मधेसी र मुस्लिम समुदायका नयाँ अनुहारलाई केन्द्रमा पु¥याउन छुट्ट्याइएको सिटमा पार्टी विधानको भावनाविपरीत केन्द्रीय समितिमा धेरै वर्षदेखि रहँदै आएका नेताले उम्मेदवारी दिन लागेका हुन् ।
पार्टी केन्द्रीय कार्यकारिणीमा पिछडिएको वर्गका नयाँ नेता तथा कार्यकर्ता आऊन् भनेर २७ केन्द्रीय सदस्य पद आरक्षण गरिएको हो,ु युवा नेता भरत गुरुङले भने, 'आरक्षण सिट एकपटकका लागि मात्र हुनुपर्छ, पुरानालाई नै ल्याउने विधानको भावना होइन ।'
१२औं महाधिवेशनमा जस्तै पार्टीका प्रभावशाली नेता आरक्षण सिटमै केन्द्रीय सदस्यको उम्मेदवारी दिने तयारीमा छन् । महिलातर्फको आरक्षण कोटाबाट केन्द्रीय सदस्य निर्वाचित भएकी महालक्ष्मी उपाध्यायबाहेक आरक्षण कोटाबाट केन्द्रीय नेतृत्वमा पुगेका सबैले सोही कोटामा उम्मेदवारी दिने तयारी गरेका छन् । उपाध्यायले भने खुलाबाट केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने जनाउँदै आएकी भीष्मराज आङ्दम्बेले प्रदेशबाट उम्मेदवारी दिनेछन् । १२ औं महाधिवेशनमा खुला २५ मा सुजाता कोइराला र सुप्रभा घिमिरेबाहेक अन्य महिलाले आरक्षणतर्फ उम्मेदवारी दिएका थिए ।
विदेशी पनि आउने
कांग्रेस महाधिवेशनमा भाग लिन विभिन्न मुलुकबाट राजनीतिक दलका प्रतिनिधि तथा शुभेच्छुक सहभागी हुँदैछन् । महाधिवेशनमा सहभागी हुन बिहारका मुख्यमन्त्री नितीश कुमार, बंगलादेशका सञ्चारमन्त्री हसनुल हक इनु तथा लाओस, सोसलिस्ट इन्टरनेसनलका महासचिव लुइस आइलालगायत सहभागी हुने अन्तर्राष्ट्रिय विभागका प्रमुख सुजाता कोइरालाले जानकारी दिइन् ।
भारतीय जनता पार्टीका उपाध्यक्ष भगतसिंह कोसियारी, भारतीय कम्युनिस्ट पार्टीका नेताका साथै लाओस, कम्बोडियाबाट नेताहरु सहभागी हुने उनले जानकारी दिइन् । छिमेकी मुलुक भारतसहित विभिन्न मुलुकका राजनीतिक दलका प्रतिनिधिलाई कांग्रेसले आमन्त्रण गरेको छ ।
प्रकाशित: १९ फाल्गुन २०७२ ०१:३४ बुधबार