राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्व एवं थरुहट/थारुवान अभियन्ताहरूबीच भएको पार्टी समायोजनसँगै ९ बुँदे सहमति भएको छ।
सोमबार राष्ट्रिय सभागृहमा आयोजित घोषणा सभामा रास्वपा उपसभापति डोलप्रसाद अर्याल र नागरिक उन्मुक्ति पार्टीका पूर्व वरिष्ठ उपाध्यक्ष दामोदर पण्डित तथा थरुहट अभियन्ताहरू लक्ष्मण थारु र सुरेन्द्र चौधरीले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।
सहमति अनुसार पार्टीको नाम, झण्डा र चुनाव चिह्न (घण्टी) साविककै रहनेछ। सहमति पत्रमा टीकापुर घटनालाई राजनीतिक आन्दोलनका रूपमा स्वीकार गर्नेदेखि थारु बहुल क्षेत्रलाई विशेष क्षेत्र घोषणा गर्नेसम्मका बुँदाहरू समेटिएका छन्।
हेर्नुहोस् ९ बुँदे सहमति
१. २०८२ साल भदौमा नवयुवाहरुले भ्रष्टाचार र कुशासन विरुद्ध गरेको आन्दोलनको अपनत्व लिँदै समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरुका लागि गरिनु पर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरु मार्फत आर्थिक सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमान्दार कार्यान्वयनप्रति समर्पित हुने,
२. पहिलो पक्ष र दोश्रो पक्षबीच बृहत् समायोजन भए पश्चात् स्थापित हुने राजनीतिक दलको नाम 'राष्ट्रिय स्वतन्त्र पार्टी, दलको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बीचमा निलो रङ्गको घण्टीको आकृति, दलको चुनाव चिन्ह घण्टी र केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहने,
३. राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक प्रस्तावनामा उल्लेख गरिए बमोजिम 'ऐतिहासिक विरासतका रूपमा विद्यमान लैङ्गिक, जातीय, वर्गीय, क्षेत्रीय लगायत सबै प्रकारका संरचनागत विभेदहरू विरुद्ध निर्णायक सम्बोधन गर्न अवसरहरूको न्यायिक वितरण, पहुँच र उपभोग' मा जोड दिदै, नेपालको संविधानले परिकल्पना गरेको संघीय लोकतान्त्रिक गणतन्त्र र समानुपातिक समावेशी सिद्दान्तप्रति प्रतिवद्द रहने,
४. बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात गर्दै थारुहरुको धार्मिक-सांस्कृतिक प्रणालीको संरक्षण र प्रवर्द्धन गर्न संविधानको धारा ५६ (५) को मर्म अनुरुप थारु बहुल क्षेत्रलाई थारु संरक्षित ‘विशेष क्षेत्र’ घोषणा गर्न कानूनी र संवैधानिक प्रक्रिया प्रारम्भ गर्ने,
५. टीकापुर घटनालाई राजनीतिक आन्दोलनका रुपमा स्विकार्दै राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा संघीय सरकार निर्माण भएपछि शान्ति सुरक्षा सुधारसँग सम्बन्धित सबै उच्च-स्तरीय आयोगका सिफारिसहरुको उचित कार्यान्वयन गर्ने,
६. निजामती, न्यायिक, प्रहरी लगायत सबै सरकारी सेवामा आरक्षित वर्गका लागि तोकिएका अनुपातमा थारुहरुको आरक्षण व्यवस्था अभ्यासमा पूर्णतः लागू गर्ने,
७. भूगोल, जनसंख्या, सामर्थ्य र सांस्कृतिक पहिचानका आधारमा प्रादेशिक सुशासनका विविध आयामहरुमा सर्वदलीय राजनीतिक सहमतिका लागि पहल गर्ने,
८. नागरिक उन्मुक्ति पार्टीका पूर्व नेतृत्व साथै थरुहट/थारुवान अभियन्ताहरु पार्टीको तहगत संरचनामा सम्मानजनक समायोजन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीको सङ्गठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउने,
९. राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह 'घण्टी' मा गोलबद्ध भइ लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्धा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरुलाई आव्हान गर्ने।
प्रकाशित: २१ पुस २०८२ १६:३६ सोमबार