मधुवन नगरपालिका–७ का निवर्तमान नगर प्रमुख कृष्ण केसी चुनावमा माओवादीबाट नगरप्रमुखको टिकटका लागि प्रमुख दाबेदारमा पर्थे। सहकर्मी तथा छिमेकी डम्बर केसीको नेपाली कांग्रेसले नगर प्रमुखमा दाबेदारको रुपमा नाम सिफारिस भयो। केसीद्वय लामो समयसम्म मधुवन नगरपालिका स्थिति साना किसान सहकारीको समृद्धि र उन्नतिका लागि योगदान गरेर चिनिएका सफल पात्र हुन्।
उम्मेदवारको टुंगो नलाउञ्जेल केसीद्वय पटकपटक छलफल बस्दा दुबै जनाको मनमा चिसो पस्यो। तर, केसीद्वयले नै टिकट नपाएपछि आ–आफ्नो पार्टीको प्रचारमा खुल्दा दुबै जनाको मित्रतामा ठेस पुगेको छ।
यस्तै, गुलरिया नगरपालिकामा ६ नम्बरमा एमाले र कांग्रेसका वडाध्यक्षका उमेदवार नातामा दाजु र भाई पर्छन्। कांग्रेसबाट टिकट पाएका सुन्धान्सु शर्मा(भाई) र एमालेबाट टिकट पाएका निरज शर्मा(दाजु) आसन्न निर्वाचनमा अध्यक्ष पदका लागि भिड्दैछन्। चुनावकै कारणले दाजु र भाईमा प्रतिस्पर्धा हुँदा नातागोतामै एक पक्षीय समर्थनको निर्णय लिन पर्ने परिवारमा बाध्यता छ। वैशाख ३० तोकिएको निर्वाचनका लागि छिमेक र नातागोता भिडेको यि प्रतिनिधि घटना हुन्। जिल्लामा रहेका आठ वटा स्थानीय तहमा चुनावले निम्त्याएका यस्ता परिदृश्यका शिकार गाउँ छिमेक हुन थालेका छन्।
यस्तै गुलरिया नगरपालिका वडा नं. ७ मा कांग्रेस र एमालेबाट मनोज यादव र गणेश यादव अध्यक्षमा भिड्दैछन्। नातागोता फुटाउने गरी उम्मेदवार छनोट गर्दा एक आपसमा मन कुडिदै गएको छ। वडा नं. ७ का अध्यक्षका उम्मेदवार मनोज यादवले नाता गोता प्रतिस्पर्धी भएपनि जनताको मन जितेकोले आफ्नो जित सुनिश्चित भएको दावी गर्छन्।
चुनावले छरछिमेक र नातागोतामा देखिएको बिबादले आत्मियताको चिरहरण भइरहेको छ। चुनावले छोपेपछि फरक राजनीतिक आस्था बोकेका छिमेकी बोलचाल बन्द हुने मात्र होइन, गाई बस्तु अर्कोको बारी गएर खाइदिँदा समेत पार्टीगत झगडा बिउँ बनिरहेको पाइएको छ।
दलीय नेता र कार्यकर्ताको भेटघाटका लागि चिया चौतारोदेखि पार्टी कार्यालय र सम्पर्क कार्यालय जताततै छ्यापछयाप्ती खोलिएका छन्। नजिक छिमेक पार्टीको प्रचारप्रसारमा हिँड्ने र अर्को छिमेकीले आँखा तर्दे अर्को छिमेकी अर्को पाटीको चुनावमा हिँड्ने प्रबृत्तिले डर र त्रासको स्थिति निम्तारहेको स्थानीय बुद्धिजिबी बताउँछन्।
‘भोट हाल्ने दिन आयो कि त्रासको अवस्था छ,’ ६५ वर्षीय वृद्ध खुशन चौधरी भन्छन्, ‘छिमेक र नाता गोता टुटाउने र फुटाउने चुनाव नआए हुन्थ्यो।’ गठबन्धन मिलाएर लैजाने नेपाली कांग्रेस र माओवादीको केन्द्रीय स्तरको निर्णयमा जिल्लामा पालना नहुँदा स्थानीय तहमा दलीय बिबाद चुलिँदै गएको छ। जसले गर्दा नेपाली कांग्रेसले बामपन्थी देख्न नहुने उनीहरुले कांग्रेस देख्न नहुने धन्धा भइरहेकाले गाउँ र छिमेक नै झगडाको बिउँ बन्ने चुनाव उनीहरुलाई लाईरहेको छ, यस्तो चुनाव नआए हुन्थ्यो। चुनावमा आचारसंहिता मिचेको र साउन्ड पोलुसन भएको फोनमा आउने गुनासो बाहेकका भै झगडा घटना नभएको एसपि बिरेन्द्रबहादुर शाहीले बताए। ‘कुनै पनि घटनालाई राजनीतिकरणमा ढाल्ने प्रबृत्ति प्रति हामी सजग र सचेत छौ,’ उनले भने,‘अहिले सम्म शान्तीपूर्ण वातावरण दलहरु प्रचारप्रसार हिँड्नु भएको छ, जसले गर्दा अप्रिय घटना नहुनेमा विश्वस्त छौ।’
यतिखेर जिल्लामा नगर प्रमुख, वडाध्यक्ष र सदस्य पदका दोहोरिएका जनप्रतिनिधिसँग स्थानीय खरो रुपमा प्रस्तुत भइरहेको स्थानीय बताउँछन्। तपाईहरुले के गर्नु भयो, भावी योजना के लिएर आउनु भएको? जस्ता प्रश्नको जवाफ दिन परिरहेको मधुवन नगरपालिका वडाध्यक्षमा दोहोरिएका माओवादीको वडाध्यक्ष राजेन्द्र हमालले बताए।
प्रकाशित: १९ वैशाख २०७९ ११:२९ सोमबार