राजनीति

एमालेलाई बहुमत दिन सकेनौं भने देशले दुर्भाग्य व्यहोर्नुपर्छ: ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनलाई ‘अदालतले जडान गरिदिएको थोत्रा टालाहरुको पुतली’को संज्ञा दिएका छन्।

अध्यक्ष ओलीले सत्तारुढ गठबन्धन आफैंलाई भने एमाले सम्झिएर निद्रामा पनि ऐठन हुने गरेको बताए। शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा पार्टीको स्थानीय तह निर्वाचन घोषणा पत्र सार्वजनिक गर्दै उनले बेहाल अवस्थामा रहेको सत्तारुढ गठबन्धनले आफ्नो पार्टीलाई डराएको भन्न नमिल्ने बताए।

अध्यक्ष ओलीले समृद्ध नेपालः सुःखी नेपालीको राष्ट्रिय संकल्पलाई पूरा गर्न पनि एमालेलाई आगामी तीन वटै तहको निर्वाचनमा विजयी गराउनुको विकल्प नरहेको पनि पटकपटक दोहोर्‍याए। पाँच दलीय गठबन्धनले देशलाई बिगारेको उल्लेख गर्दै उनले त्यसलाई सही बाटोमा ल्याउन एमालेले आगामी सबै तहको निर्वाचनमा जित्नैपर्ने जिकीर गरे।

अध्यक्ष ओलीले भने, ‘स्थानीय तहमा एमालेलाई बहुमत दिन सकेनौं भने देशले दूभाग्र्य व्यहोर्नुपर्नेछ। म सम्पूर्ण दाजुभाई, दिदीबहिनीहरुलाई आग्रह गर्न चाहन्छ–देशको भविष्य, तपाई हाम्रो सन्ततिको भविष्य, तपाई हाम्रो भावी सन्ततिको भविष्य, कुनै संकीर्ण बहकावमा अन्धकारमा पर्न नदिऊ। देशमा छाउनुपर्छ सूर्य। आउनुपर्छ एमाले। अब देशमा छाउने सूर्य हो। आउने एमाले हो। तबमात्रै समृद्ध नेपाल सुःखी नेपाली बन्छ।'

अध्यक्ष ओलीले आगामी सबै तहको निर्वाचन जित्ने र मुलुकलाई आत्मविश्वासका साथ बनाउने अभियानमा सहभागी हुन पनि सबै देशबासीलाई आह्वान गरे। उनले आफ्नो पार्टीले घोषणा गरेको स्थानीय तह निर्वाचनको घोषणा पत्रको सारतत्व समृद्ध नेपालः सुःखी नेपाली बनाउनु रहेको बताए। त्यसका लागि आफ्नो पार्टीको नेतृत्वमा तीन वटै तहमा सरकार बनाउनै पर्ने अध्यक्ष ओलीको भनाइ थियो।

अध्यक्ष ओलीले चैत्र महिना भित्रै मेलम्चीको पानी काठमाडौं खसाल्छु भनेपनि सरकारले नसकेको बताए। उनले यो सरकारले बर्खामा बाढि पसेपछि मात्रै पानी होइन भल काठमाडौंमा टनेलमार्फत खसाल्ने बताए। अध्यक्ष ओलीले आफ्नो पार्टी सानो भएको भए सिध्याई दिने अवस्था रहेको पनि बताए।  

प्रकाशित: ९ वैशाख २०७९ १२:२७ शुक्रबार

अध्यक्ष केपी शर्मा ओली च्यासलस्थित तुलसीलाल स्मृति भवन सत्तारुढ गठबन्धन