राजनीति

माघ ११ गते संविधानसभाले गरेको निर्णय सच्याउनुपर्ने माग

काठमाडौं- एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले 'सहमतिका आधारमा संविधान जारी गर्न नचाहने प्रवृत्ति हाबी भएका कारण' बाध्य भएर जनपरिचालन गर्ने निर्णयमा पुग्नुपरेको बताएका छन्। 
एमाओवादीको सहायक सङ्गठन योङ कम्युनिस्ट लिग(वाइसिएल)को केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले दलबीच भएको बाह्र बुँदे सम्झौता, अन्तरिम संविधान, विस्तृत शान्ति सम्झौता र विभिन्न पक्षबीच भएको सहमतिलाई अक्षरशः कार्यान्वयन गर्न सत्तारुढ दल तयार भएर सहमतिमा संविधान जारी गर्ने सम्भावना रहेको तर त्यसका लागि यही माघ ११ गते संविधानसभाले गरेको निर्णय सच्याउनुपर्ने बताए।
संविधानसभामा अल्पमत तथा बहुमत नहुने भए पनि नेपाली कांग्रेस र नेकपा(एमाले)ले जबर्जस्ती गरेको उनको आरोप थियो। पद र प्रतिष्ठा खोज्नेभन्दा पनि जनताको अधिकार स्थापित गर्ने अभियानमा लाग्नुपर्नेमा जोड दिँदै अध्यक्ष दाहालले संविधान निर्माणमा सहमति हुन नसक्नाको कारणबारे जनतालाई बुझाउनुपर्ने धारणा राखे।
जनयुद्ध, जनआन्दोलनलगायत आन्दोलनबाट प्राप्त उपलब्धि गुम्ने खतरा पैदा भएको विचार व्यक्त गर्दै उनले 'विभिन्न आन्दोलनका क्रममा सहिद, बेपत्ता तथा घाइते भएकालाई अपमान गर्ने, उनीहरुको योगदानविरुद्ध जाने क्रम सत्ताधारी दलका नेताबाट सुरु भएकाले' फेरि एक पटक त्यो वर्गलाई आन्दोलनमा केन्द्रित गर्नुपर्नेमा जोड दिए। रासस

प्रकाशित: २० माघ २०७१ ०७:५९ मंगलबार