राजनीति

पर्सामा ६७ प्रतिशत मतदान

सप्तरीमा ५५.४३ प्रतिशत मत खस्यो

पर्सा जिल्लामा बिहीबार भएको प्रतिनिधिसभा निर्वाचनमा ६७ प्रतिशत मतखसेको समाचार प्राप्त भएको छ । जिल्लाका चार वटै निर्वाचन क्षेत्रमा सम्पन्न भएको निर्वाचनमा औसतमा करिब ६७ प्रतिशत मतखसेको पर्साका मुख्य निर्वाचन अधिकृत गायत्री प्रसाद रेग्मीले बताए ।

पर्साको चारवटै निर्वाचन क्षेत्रमा ३ लाख ७६ हजार ५ सय १३  मतदाता सङख्या रहेकोमा २ लाख ५२ हजार मत खसेको प्रारम्भिक अनुमान छ । कुनैपनि क्षेत्रमा १ लाख बढी मतदान नभएको निर्वाचन कार्यालय पर्साले जनाएको छ । अहिले मोटामोटी तथ्यांक प्राप्त भएको बताउदै निर्वाचन प्रमुख रेग्मिले बिहीबार राति १० बजेसम्म अन्तिम तथ्यांक आउने प्रतिक्रिया दिए । 

मतदान सम्पन्न भइसकेपछि केन्द्रहरुबाट मतपेटिका संकलनको काम भइरहेको छ । पर्सा क्षेत्र नं १ र २ को मतगणना वीरगन्जस्थित ठाकुरराम क्याम्पसमा र ३ र ४ को मतगणना पोखरिया नगरपालिकाको उच्चांगल माबिमा हुने रेग्मीले बताए।  

मतपेटिका सङकल भइसकेपछी सर्वपक्षीय बैठक डाकेर बिहीबार रातिबाटै मतगणना सुरु गर्ने प्रयास भइरहेको बताए ।

यस्तै सप्तरीमा ५५.४३ प्रतिशत मत खसेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित: २१ फाल्गुन २०८२ १९:१५ बिहीबार