राजनीति

हिन्दुराज्य स्थापनाको मुद्दा बोक्दा बोक्दै मन्त्री भए गजेन्द्र हमाल

बाँकेका पुराना कांग्रेस मध्येका एक हुन, गजेन्द्र हमाल। नेपाली कांग्रेस बाँकेका सभापति समेत भइसकेका हमाललाई धेरैले सादगी र सन्त नेताका रुपमा चिन्छन्। पार्टीको कुनै सक्रिय पदमा नरहेपनि उनको योगदान नेपाली कांग्रेसका लागि अविष्मरणीय रहेको यहाँ नेता, कार्यकर्ता बताउँछन्। कांग्रेसको संगठन विस्तारमा गजेन्द्र लगायत हमाल परिवारको योगदान धेरै छ।  

यिनै हमाल, शुक्रबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले विस्तार गरेको मन्त्रिपरिषदमा उनी नियुक्त भएका हुन्। यसका लागि हमाललाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको पनि सिफारिस रहेको राजनीतिक वृत्तमा चर्चा छ। तर, हमालले उक्त आरोपलाई अस्वीकार गर्दै आएका छन्।

उनी र प्रधानन्यायाधीश राणाबीचको साहिनो ज्वाई–जेठान हो। आफू मन्त्री बन्नमा पार्टी बाहिरभन्दा भित्रैबाट सहयोग भएको हमालको दाबी छ। ‘म मन्त्री बन्नलाई बाहिरका मान्छेको सहयोग किन आवश्यक पर्यो र?’ उनले नागरिकसँग भने, ‘म राजनीतिक परिवारमा जन्मेको, हुर्केको मान्छे हुँ, नेपाली कांग्रेसको संगठन विस्तारमा मेरो योगदान कति छ, त्यो त पार्टीले मूल्यांकन गरेको होला नि।’ कांग्रेसको संगठन विस्तारमा उनका दाई स्वर्गीय रनेन्द्रबहादुर हमाल ‘भाइराजा’को योगदानलाई नेपाली कांग्रेस वृत्तमा अविष्मरणीय छ। उनले राजनीतिमा अनेक संम्भावना हुने र मन्त्री बन्ने कुरा कुनै असम्भव नभएको तर्क पनि गरे।  

हमाल २०१० फागुन ८ मा जन्मेका हुन्। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ का स्थायी बासिन्दा हमाल २०२८ सालमा शेरबहादुर देउवा नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष हुँदा नेविसंघ बाँकेको जिल्ला अध्यक्ष भएका थिए। २०४० सालमा स्थानीय त्रिभुवन चोकमा तत्कालीन राजा र रानीको फोटो च्यातेपछि उनको चर्चा चुलिएको थियो। वि.सं. २०३९ र २०४४ सालमा वडा अध्यक्ष बनिसकेका हमाल २०५३ सालमा कांग्रेस विभाजन हुँदा बाँके कांग्रेसको सभापति बनेका थिए। नेपाली कांग्रेसका नेता सुशिल कोइरालासँगको टकरावका कारण उनी देउवातिर लागेका थिए। कोइराला बाँचुञ्जेल उनको टकराव रहिरह्यो।  

पार्टीले उनलाई पहिलो संविधान सभा निर्वाचन २०६४ मा टिकट दियो। बाँके क्षेत्र नम्बर १ बाट चुनाव लडेका उनी नेकपा माओवादीका नेता तिलक परियारसँग पराजित भएका थिए। त्यसयता उनी पार्टीको गतिविधिमा कमै मात्रामा देखिन्थ्ये। मुलुकमा हिन्दुराज्य स्थापना गर्नुपर्छ भन्दै उनले अभियान नै थालेका थिए। केही वर्षअघि उनले नेपालमा हिन्दुराज्य स्थापनाका लागि दवाव स्वरुप भारतबाट ठूलो संख्यामा सन्त, महन्तलाई नेपालगन्जमा जमघट गराएका थिए। 

‘पार्टीले अहिले मलाई मूल्यांकन गरेर ठूलो जिम्मेवारी दिएको छ, म यो जिम्मेवारीलाई कुशलता पूर्वक पूरा गर्नेछु,’ उनले नागरिकसँग भने।

प्रकाशित: २२ आश्विन २०७८ ११:२४ शुक्रबार