राजनीति

संघीय निजामति सेवा विधेयक २०७५ संसदबाट फिर्ता

सरकारले संघीय निजामति सेवा विधेयक २०७५ संसदबाट फिर्ता लिएको छ। मन्त्रिपरिषद्को असोज १९ गतेको बैठकले संघीय निजामति सेवा विधेयक २०७५ फिर्ता लिने निर्णय गरेको थियो। 

सरकारको सोही निर्णय अनुसार प्रतिनिधि सभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राखेको संघीय निजामति सेवा विधेयक २०७५ फिर्ता लिने प्रस्ताव प्रतिनिधि सभाको बहुमतले स्वीकृत गरेको छ।  

२०७५ सालमा दर्ता भएको विधेयक प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिमा लामो समय अड्केर सभाको पूर्ण बैठकमा पेश भएको थियो। यो विधेयक नहुँदा प्रदेश सरकारले प्रदेश निजामति सेवा सम्बन्धी कानून बनाउन पाएको छैन।  

त्यस्तै बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको समेत जिम्मेवारीमा रहेका प्रधानमन्त्री देउवाको तर्फबाट कानूनमन्त्री कार्कीले पेश प्रतिनिधि सभामा विचाराधिन रहेको रेल्वे विधेयक २०७६ फिर्ता लिन राष्ट्रिय सभाको सहमतिको निम्ति प्रतिनिधि सभाको सिफारिश प्राप्त गर्ने प्रस्ताव पनि बहुमतले स्वीकृत गरेको छ।

प्रकाशित: २२ आश्विन २०७८ ०८:५१ शुक्रबार