आन्दोलन चर्किदै जाँदा त्यसको परिचालन तथा निर्देशन गर्न सजिलो होस् भनेर हालै बसेको उपलब्ध केन्द्रीय समितिको बैठकले 'हेडक्वार्टर' लाई आन्दोलनको अन्तिम अधिकार सुम्पेको हो। पार्टी र जनवर्गीय संगठन र मोर्चालाई एकीकृत गर्नका अध्यक्षले नेतृत्व गर्दा आन्दोलन छरितो हुने माओवादीको निश्कर्ष छ।
यसअघि माओवादीले संयुक्त राष्ट्रिय जनआन्दोलन परिचालन समितिको नेतृत्व पार्टीका तेस्रो वरियताक्रमका बाबुराम भट्टराईलाई सुम्पेको थियो, जसको उपाध्यक्षमा तिलक परिवार, अमिक शेरचन र रामकुमारी यादव, महासचिवमा नेत्रविक्रम चन्द, सचिवमा जनार्दन शर्मा, कोषाध्यक्षमा लेखराज भट्ट र विभिन्न जनवर्गीय तथा मोर्चाका प्रमुखगरी एक सय १७५ सदस्यीय समिति बनेको छ।
आइतबार बेलुका राजधानीमा दोस्रो चरणको आन्दोलन आरम्भ गर्न दाहाल स्वयं रत्नपार्कमा गई राँको बालेका थिए। संयोग नै भनौ, त्यसबेला संयुक्त राष्ट्रिय जनआन्दोलन परिचालन समितिका संयोजक भट्टराईचाहिं गृह जिल्ला गोरखामा व्यस्त थिए।
भट्टराईचाहिं महिनाको एकपटक गृहजिल्ला जाने नियमित रुटिनअन्तर्गत गोरखा सदरमुकामबाट तीन घण्टा टाढाको बोर्लाङ गाउँमा आमसभालाई सम्बोधन गर्न पुगेको उनीनिकटस्थ स्रोतको दाबी छ। 'यहाँ (राजधानीमा) अध्यक्ष स्वयम् उपस्थित हुने भएकोले एक महिनाअघि तय भएको कार्यक्रममा बाबुराम गोरर्खातिर जानुभएको हो।', स्रोतले भन्यो।
यद्यपि, माओवादीले जनआन्दोलनको 'फिल्ड कमाण्डर' का रूपमा बाबुराम नै भएको जनाएको छ। 'आन्दोलनको रुपलाई विशिष्टकरण गर्न फिल्डमा बाबुरामजीकै नेतृत्वमा मास परिचालन हुनेछ, तर आन्दोलन कसरी लैजाने भन्ने अधिकार केन्द्रीय कार्यालयमा निहित गरिएको छ', दाहालका स्वकीय सचिव विकेश श्रेष्ठले नागरिकसित भने।
०६२ असोजको चुनवाङ बैठकले दाहाललाई सेना र पार्टी संगठनको सम्पूर्ण अधिकार केन्द्रीकृत गर्ने निर्णय गरेको थियो। त्यसअघि पार्टीका वरिष्ट नेता बाबुराम भट्टराईले शक्तिको केन्द्रीयकरण गर्दा दुरूपयोग हुनसक्ने खतरा औल्याउँदा उनको दाहालसँग मतभिन्नता सिर्जना भएको थियो। चुनवाङ बैठकमा भट्टराईले ल्याएको लोकतान्त्रिक गणतन्त्रको लाइन दाहालले स्वीकारेपछि भट्टराईले पनि दाहालको केन्द्रीकृत नेतृत्व स्वीकारेका थिए।
आन्दोलनको मुखैमा दाहाललाई दिइएको सर्वोच्च कमाण्डरको अधिकार चुनवाङ वैठकपछि निर्णयसँग मिल्दोजुल्दो छ। त्यसवेला दाहाललाई माओवादी जनमुक्ति सेनाको सुप्रिम कमाण्डरको सँगसँगै आवश्यक परेको वेला एकल निर्णय गर्ने अधिकार दिएको थियो।
अहिलेकोमा फरक यत्ति छ कि, दाहालले आन्दोलनको रणनीति तय गर्नुअघि हेडक्वार्टरमा छलफल गर्नुपर्नेछ, जसमा पार्टीका उपाध्यक्षत्रय मोहन वैद्य, भट्टराई र नारायणकाजी श्रेष्ठ, महासचिव रामबहादुर थापा तथा सचिवद्वय सीपी गजुरेल र पोष्टबहादुर बोगटीसँग प्रारम्भिक सल्लाह लिनेछन्। उनीहरू पार्टीको अस्थायी समिति सदस्य पनि हुन्। साथै, माओवादीको सैन्य इञ्चार्ज वर्षमान पुन पनि हेडक्वार्टरका सहयोगीका रूपमा रहनेछन्।
माओवादीले दोस्रो चरणको आन्दोलनलाई राणनैतिक प्रत्याक्रमणको दोस्रो योजना भनेर व्याख्या गरेका छन्। माओवादीमा प्रत्याक्रमण भनेको लडाइँ जितिनसकेको तर आफू माथि परेको अवस्था भन्ने बुझिन्छ। यतिखेर उनीहरूले आन्दोलन शान्तिपूर्ण गर्ने बताएका छन्। माओवादीको भातृसंगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल)लाई आन्दोलनका सहयोगका रुपमा अन्य जनवर्गीय संगठन विद्यार्थी, महिला, मजदुर आदितिर पनि छुट्टै 'वाईसीएल सेल' गठन गरी त्यसको प्रत्यक्ष कमाण्ड दाहालले गर्नेछन्।
सैन्य होइन कि मास केन्द्रीत गर्ने उनीहरूको उद्देश्य छ। २६ र २७ गते दुई लाखजति जमात उपस्थित गराएर सिंहदरबार घेराउ गर्दासम्म राष्ट्रिय सरकार बन्ने वातावरण नदेखिएमा भद्र अवज्ञा गर्ने माओवादीको भित्री योजना छ, जसलाई उनीहरूले गान्धीवादी आन्दोलन स्वरूप नामाकरण गरेका छन्।
प्रकाशित: १६ कार्तिक २०६६ २१:५७ सोमबार