राजनीति

भारतीय प्रधानमन्त्रीको पुत्ला जलाइएको प्रति सरकारको आपत्ति, कारबाही गर्ने चेतावनी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएको भन्दै गृह मन्त्रालयले गम्भीर आपत्ति जनाएको छ। आइतबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले छिमेकी प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।  

मन्त्रालयले मित्राष्ट्रहरुविरुद्ध लक्षित हुने गतिविधिलाई नियन्त्रण गर्न र त्यस्ता गतिविधिमा संलग्न भइ कानुन हातमा लिन खोज्नेलाई कारबाही गरिने पनि स्पष्ट पारेको छ।  

'नेपाल सरकार सबै मित्रराष्ट्रहरुसँग पारस्परिक सम्बन्ध अझ प्रगाढ बनाउन चाहन्छ र नेपाली भूमिमा कुनै पनि राष्ट्र विरुद्धका गतिविधि हुन नदिने विषयमा कटिबद्ध छ’, विज्ञप्तिमा भनिएको छ, ‘मित्रराष्ट्रहरूसँगको स्वाभिमान र सम्मानमा आँच आउने कुनै पनि क्रियाकलाप नगर्न सबैमा आग्रह गरिन्छ।’

शुक्रबार सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) पार्टीको विद्यार्थी संगठनले दार्चुलाका जयसिंह धामी बेपत्तामा भारतीय एसएसबीको संलग्नता पुष्टि भएपछि घटनाको विरोधमा मोदीको पुत्ला जलाएको थियो।

प्रकाशित: २० भाद्र २०७८ ०७:४१ आइतबार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गृह मन्त्रालय गम्भीर आपत्ति