नेकपा (एमाले) माधवकुमार नेपाल समूहकी सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनु आफ्नो कर्तब्य भएको बताएकी छन्।
सामाजिक सन्जालमार्फत उनले प्रतिनिधिसभालाई पूरा कार्यकाल सञ्चालन गर्नका लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्ने बताएकी हुन्।
'हामीले ७६(५) को प्रमको लागि संघीय संसदका माननीय सदस्य शेरबहादुर देउवालाई समर्थन गरेका थियौँ। १४९ जनाको समर्थन हुँदा पनि राष्ट्रपतिबाट नियुक्ति नभएपछि १४६ जना सदस्यहरू सर्वोच्च अदालतको ढोका ढकढकाउन पुगेका हौँ,' उनले भनिन्, 'अदालतले परमादेशको आदेश जारी गरेपछि बनेको सरकार र प्रधानमन्त्रीलाई विश्वासको मत दिनु हाम्रो कर्तव्य हो।'
झाँक्रीले अगाडि भनेकी छन्, 'सकिन्छ नेकपा एमालेले संस्थागत निर्णय गरी फ्लोरमा बसेर विश्वासको मतको पक्षमा भोट हालौँ। त्यसो गर्न सकिदैन भने सांसदहरूलाई संसदको पुरा कार्यकाल संचालन गर्न हामी सबैले विवेक प्रयोग गरी पक्षमा भोट हालौं।'
यदि त्यो पनि भएन भने आफूसहित २३ जना निवेदककर्ताले भोट हाल्नु आफ्नो कर्तव्य नै भएको बताएकी छन्।
प्रकाशित: ३ श्रावण २०७८ ०९:५२ आइतबार