राजनीति

कांग्रेस सभापतिले भने– ‘आगामी भदौमा पार्टीको महाधिवेशन हुन्छ’

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको चौधौं महाधिवेशन आगामी भदौ महिनामा हुने ठोकुवा गरेका छन्।

एक प्रेस विज्ञप्तिमार्फत् उनले सो ठोकुवा गरेका हुन्। ‘यस्तो विषम परिस्थितिमा पनि हामीले यही भाद्र महिनाभित्रमा पार्टीको चौधौं महाधिवेशन सम्पन्न गर्नु परेको छ । म देशभरिका पार्टीका सम्पूर्ण साथीहरुलाई स्पष्टताका साथ भन्न चाहन्छु-२०७८ साल भाद्र महिनामा पार्टीको महाधिवेशन हुन्छ। म यसमा पूर्ण प्रतिवद्ध छु।’ बुधबार प्रकाशित विज्ञप्तिमा उनले भनेका छन्।

विज्ञप्तिमार्फतै उनले सरकारकै कारण अहिलेको जटिल अवस्था आएको पनि बताएका छन्। ‘जनताको स्वास्थ्यका बारेमा समयमा गम्भीर भई इमान्दारीपूर्वक काम नगरेका कारण यो अवस्था सृजना भएको छ। यसमा सरकार पूर्ण रुपले दोषी छ।’ विज्ञप्तिमा भनिएको छ।  

उनले असार र साउनमा महाधिवेशनका लागि सबै पूर्व तयारी गर्नुपर्ने उल्लेख गर्दै महाधिवेशनका लागि निर्वाचन समिति, क्रियाशील सदस्यता छानविन समिति गठन भई काम गरिरहेको उल्लेख गरेका छन्।

प्रकाशित: २६ जेष्ठ २०७८ १२:०३ बुधबार

नेपाली कांग्रेस कांग्रेस सभापति शेरबहादुर देउवा