अघिल्लो पटक (२०७९) को निर्वाचनमा भन्दा यो पटकको निर्वाचनका लागि गण्डकी प्रदेशमा ५२ हजार नयाँ मतदाता थपिएका छन । प्रदेशका ११ वटा जिल्लामा थपिएका ५२ हजार ५ सय २४ सहित यो पटक गण्डकीमा १८ लाख ७० हजार ६५ जना मतदाता पुगेका छन । यसअघिको निर्वाचनमा १८ लाख १७ हजार ५ सय ४१ जना मतदाता थिए ।
प्रदेश निर्वाचन कार्यालयका अनुसार गण्डकीमा यो पटक पुरुष मतदाताको संख्या ९ लाख १४ हजार ५ सय ३५ रहेको छ । त्यस्तै महिला मतदाताको संख्या ९ लाख ५५ हजार ५ सय १६ रहेको छ । पुरुष र महिला बाहेक १४ जना अन्य (यौनिक तथा लैंगिक अल्पसंख्यक) मतदाता रहेको पनि निर्वाचन कार्यालयको तथ्यांक रहेको छ । गण्डकीमा पुरुष भन्दा महिला मतदाताको संख्या ४० हजार ९ सय ८१ ले बढि रहेको छ ।
प्रदेश निर्वाचन कार्यालय गण्डकीका सूचना अधिकारी रुद्र न्यौपानेका अनुसार योपटक सबैभन्दा कम हिमाली जिल्ला मनाङमा मतदाता थपिएका छन् । मनाङमा जम्मा २ सय २१ जना नयाँ मतदाता थपिएका छन । प्रदेशका ११ जिल्ला मध्ये सबैभन्दा कम मतदाता पनि मनाङमै रहेका छन । मनाङमा जम्मा ७ हजार मतदाता रहेका छन ।
यस्तै सबैभन्दा बढी मतदाता थपिएको जिल्ला कास्की हो । कास्कीमा यो पटकको निर्वाचनका लागि १७ हजार ४ जना मतदाता थपिएका छन । गण्डकीमा सबैभन्दा बढि संख्यामा मतदाता भएको जिल्ला पनि कास्की नै हो । कास्कीमा सबैगरि ३ लाख ८ हजार ५ सय ७२ जना मतदाता रहेका छन । अघिल्लोपटक कास्कीमा २ लाख ९१ हजार ५ सय ६८ जना मात्र मतदाता रहेका थिए ।
निर्वाचन कार्यालयका अनुसार कम मतदाता हुने जिल्लामध्ये मुस्ताङ दोश्रोमा रहेको छ । मुस्ताङमा योपटकको निर्वाचनका लागि ११ हजार ३ सय २८ जना मतदाता रहेका छन । अघिल्लो निर्वाचनमा मुस्ताङमा १० हजार ९ सय ५७ जना मतदाता थिए ।
गोरखामा यो पटक मतदाताको संख्या २ लाख २९ हजार ५८ रहेको छ । त्यस्तै लम्जुङमा १ लाख ३७ हजार १ सय २४ जना मतदाता रहेका छन् । तनहुँमा भने २ लाख ५४ हजार ३ सय ९७ जना मतदाता रहेका छन । त्यस्तै स्याङजामा २ लाख ४८ हजार ८ सय १६ जना मतदाता रहेका छन । नवलपुरमा भने २ लाख ६८ हजार ५ सय २६ जना मतदाता रहेका छन ।
म्याग्दीमा जम्मा ८६ हजार ३ सय ९७ जना मतदाता रहेका छन । बागलुङमा भने १ लाख ९३ हजार ३ सय ८१ जना मतदाता रहेको निर्वाचन कार्यालयको भनाई छ । पर्वतमा १ लाख २५ हजार ४ सय ६६ जना मात्र मतदाता रहेको पनि कार्यालयको तथ्यांक रहेको छ । थपिएका नयाँ मतदाता पनि युवापुस्ताका रहेको निर्वाचन कार्यालयको भनाई छ ।
प्रकाशित: १० माघ २०८२ १७:३९ शनिबार