नवनियुक्त मन्त्रीहरुमा सदभावना पार्टीका लक्ष्मणलाल कर्ण- विना विभागीय र मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का सर्वदेव ओझा-महिला, बालबालिका तथा समाज कल्याण छन्। थपिने राज्यमन्त्रीहरूमा मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का करिमा बेगम (कृषि तथा सहकारी), शत्रुघ्नप्रसाद सिंह कोइरी (पर्यटन तथा नागरिक उड्डयन), सञ्जयकुमार साह (भौतिक योजना तथा निर्माण) र रामवचन अहिर यादव (महिला, बालबालिका तथा समाज कल्याण) छन्।
राष्ट्रिय जनशक्ति पार्टीका इन्द्रप्रसाद ढुङ्गेललाई (विज्ञान तथा प्रविधि राज्यमन्त्री) र सद्भावना पार्टीका सरोजकुमार यादवलाई (वाणिज्य तथा आपूर्ति राज्यमन्त्री) बनाइएको छ। मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का कलावतीदेवी दुसाधलाई (भौतिक योजना तथा निर्माण सहायक मन्त्री) को जिम्मेवारी दिइएको छ।
कसलाई मन्त्री बनाउने भन्ने कुराको टुंगो नलाग्दा तराई मधेस लोकतान्त्रिक पार्टीले भने बुधबार मध्यान्हसम्म पठाएको थिएन। प्रधानमन्त्री माधवकुमार नेपालले तीन मधेशी दलका ११ र जनशक्तिका १ जना गरी १२ सदस्य थपेर बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका थिए। तर अन्तिम समयसम्म तमलोपाका तर्फबाट मन्त्रीको सूचि नपाए पछि मन्त्रिमण्डल पुनर्गठन गरिएको हो।
जेठ ११ मा प्रधानमन्त्री भएका नेपालले छैटौंपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन्। विस्तारपछि मन्त्रिपरिषद् ४२ सदस्यीय भएको छ। यसअघि मन्त्रिपरिषद् ३३ सदस्यीय थियो। यो मन्त्रिपरिषद् २०५२ सालको शेरबहादुर देउवा सरकारपछिको जम्बो हो। नेपालले यसअघि जेठ २१, असार ३, असार १०, असार १९ र साउन १४ मा मन्त्रिपरिषद् विस्तार गरिसकेका छन्।
मन्त्रिपरिषद् थप विस्तार हुन सक्ने फोरम लोकतान्त्रिकका अध्यक्ष तथा उप प्रधानमन्त्री विजयकुमार गच्छदारले बताए। उनले २२ दलको गठवन्धनका सरकार भएकाले प्रधानमन्त्री नेपालले फेरि पनि मन्त्रिपरिषद विस्तार गर्नुपर्ने बताए।
तमलोपमा अझै विवाद
तराई मधेश लोकतान्त्रिक पार्टी भित्रको विवादका कारण एक जना राज्य र एक जना सहायक मन्त्रीको सपथ हुन सकेन। तमलोपाका तर्फबाट गोविन्द चौधरीको शिक्षा राज्य मन्त्री र चन्दा चौधरी खेलकुद सहायक मन्त्रीमा सिफारिस भई प्रधानमन्त्रीकोमा नाम पुगेको थियो। पार्टी अध्यक्ष महन्थ ठाकुरले बुधबार बिहान प्रधानमन्त्रीलाई सम्पर्क गरी आजको सपथ ग्रहणमा उनीहरुलाई सरिक नबनाउन अनुरोध गरे।
दुबै जना संविधान सभामा नभएका नेतालाई मन्त्री पद दिन नहुने भन्दै केही केन्द्रीय सदस्यले विरोध जनाएपछि अध्यक्ष ठाकुरले संसदीय दलको बैठक बोलाएर मात्र मन्त्रीहरुको नाम पठाउने तयारी गरेका छन्। "पर्सी शुक्रबार ससदीय दलको बैठक बस्छ," तमलोपाका प्रवक्ता सर्वेन्द्रनाथ शुक्लले नागरिकसँग भने, "त्यसपछि मन्त्रीपरिषदमा नाम सिफारिस हुन्छ।"
तमलोपामा संसदीय दलमा इश्वर दयाल र सुमित्रा चौधरीको नाम पनि राज्य र सहायक मन्त्रीका लागि प्रस्तावित हुने एक केन्द्रीय सदस्यले जानकारी दिए।
मन्त्रीद्वारा हिन्दीमा सपथ
बुधबार शपथ लिएकामध्ये सदभावना पार्टीका लक्ष्मणलाल कर्णले हिन्दीमा शपथ लिए। शपथ ग्रहण कार्यक्रममा नेपाली कङ्ग्रेसका मन्त्री भने उपस्थित भएनन्। उनले विगतमा पनि मन्त्रीहरुले हिन्दीमा सपथ लिएकाले आफूले पनि हिन्दीमा सपथ लिएको प्रतिक्रिया दिए। फोरम लोकतान्त्रिका तर्फबाट मन्त्री बनेका ओझाले भने अवध भाषामा सपथ लिएका थिए।
शपथ लिएका राज्य र सहायक मन्त्रीहरु मध्ये धेरैले हिन्दी र आफ्नै मातृभाषामा सपथ लिएका थिए।
शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री माधवकुमार नेपालले माओवादीलाई सरकारमा सामेल हुन आग्रह गर्दै यसका लागि सबै ढोका खुला भएको बताए। उनले भने- 'माओवादी सरकारमा आउँछन् भने मन्त्रिपरिषद् पुनर्गठन गर्न तयार छु।'
सपथ ग्रहण समारोहमा कांग्रेसका मन्त्री अनुपस्थित भएको बारे सञ्चारकर्मीको जिज्ञासामा प्रधानमन्त्रीले भने, 'यो सामान्य कुरा हो। खै किन आउनु भएन थाहा भएन।'
राज्यमन्त्रीहरुको दुईपटक सपथ-
बुधबारको विस्तारमा ६ जना राज्यमन्त्री थपिए पनि राज्यमन्त्रीहरुको सपथ ग्रहण भने दुई पटक भयो। पहिलोपटकको सपथ ग्रहणमा राजपाका तर्फबाट राज्यमन्त्री भएका ढुङ्गेल अनुपस्थित थिए। उनी सपथ सकिएको करिब ४५ मिनेटपछि आइपुगेका थिए। "मलाई त गलत सूचना भयो नि," ढुङ्गेलले भने,"साढे दुई बजे सपथका लागि समय रहेछ। मलाई साँढे तीन बजे भनेर खवर गरिएको थियो।"
सपथ ग्रहण कार्यक्रम सकेर प्रधानमन्त्रीसहित सबै मन्त्रीहरु आ-आफ्नै कार्यकक्षमा फर्केको आधा घन्टापछि ढुङ्गेल सिंहदरबार पुगेका थिए।
प्रधानमन्त्री नेपालले ढुङ्गेललाई एक्लै सपथ खुवाएका थिए।
प्रकाशित: १७ भाद्र २०६६ ०३:५९ बुधबार