राजनीति

एपिएफ, पुलिस, आर्मी र सुदुरपश्चिम विजयी

सिद्धराज राई, म्याङलुङ, तेह्रथुम, चैत २०- एपिएफ र नेपाल पुलिस क्लबले विजय यात्रालाई निरन्तरता दिँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको दिन सोमबार तेह्रथुममा जारी २७औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा सुदूरपश्चिमाञ्चल र त्रिभुवन आर्मी क्लबले पनि जित हासिल गरेका छन्।  
प्रतियोगिताको दोस्रो दिन पहिलो खेलमा आर्मीले कमजोर प्रतिस्पर्धी पुर्वाञ्चललाई २५-११, २५-८, २५-१३ को सोझो सेटमा हरायो। अघिल्लो दिन पुलिससँग पराजित आर्मी यो जितपछि सेमिफाइनल पुग्ने सम्भावना कायम राख्न सफल भएको छ। टोलीले अन्तिम चारको यात्रा पक्का गर्न मंगलबार त्रिभुवन विश्व विद्यालयविरुद्ध हुने समूह चरणको अन्तिम खेल जित्नुपर्नेछ। आर्मी हारेमा विश्वविद्यालय सेमिफाइनलका लागि छानिनेछ। दुई खेलमा हार बेहोरिसकेको पुर्वाञ्चल भने समूह चरणको अन्तिम खेलअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको छ।
पुलिसले सेमिफाइनलमा स्थान पक्का गर्ने क्रममा सोमबार त्रिभुवन विश्वविद्यालयलाई २५-२१, २५-१९, २५-१८ को सोझो सेटमा हरायो। यसैगरी तेह्रथुमको जिरिखिम्तीमा भएको समूह चरणको अर्को खेलमा सुदूरपश्चिमाञ्चलले मध्यपश्चिमाञ्चललाई २५-१८, २५-२१, २५-१६ को सोझो सेटमा हराएर सेमिफाइनल पुग्ने आशा जीवित राखेको छ। अघिल्लो खेलमा मध्यमाञ्चलसँग पराजित सुदूरपश्चिमाञ्चलले अन्तिम खेलमा सेमिफाइनल यात्रा पक्का गरिसकेको एपिएफविरुद्ध खेल्नेछ। २ खेल गुमाएको मध्यपश्चिमाञ्चल पनि प्रतियोगिताबाट बाहिरिने निश्चित भएको छ।
एपिएफले मध्यमाञ्चललाई २५-१०, २५-१६, २५-१६ को सोझो सेटमा हराएको छ।
पश्चिमाञ्चल अनुपस्थित
प्रतियोगिता खेल्न तेह्रथुम आइरहेको पश्चिमाञ्चल टिम सवारी दुघर्टनामा परेर अनुपस्थित भएको छ। आईतबार हेटौडामा सवारी दुघर्टना भएपछि फर्किएको नेपाल भलिबल संघका केन्द्रिय उपाध्यक्ष विरेन्द्र खड्काले बताए। दुघर्टनामा महत्वपुर्ण ४ जना खेलाडी घाईते भएपछि उनीहरु फर्केको बताइएको छ। 

प्रकाशित: १९ चैत्र २०६९ १२:४७ सोमबार