रफत सञ्चार क्लबको आयोजनामा भएको अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेता नेपालले बाबुराम भट्टराईले अध्यादेशबाट देश चलाउने सोच गरे त्यो माओवादीका साथै देशलाई नै घातक हुने बताए। उनले अहिले माओवादी अध्यक्ष र प्रधानमन्त्री भट्टराईको बोलीमा लोकतन्त्रको वकालत गरिए पनि व्यवहार र रणनीतिमा लोकतन्त्रलाई समाप्त पार्नमा लागिपरेको आरोप लगाए। माओवादीले लोकतन्त्रको मूल्य र मान्यतालाई छाडिसकेकाले लोकतन्त्रको आडमा बनेको वर्तमान सरकारमा बस्ने नैतिक आधार पनि माओवादीले गुमाइसकेको भन्दै भट्टराराईले सरकारमा बसिरहनु नैतिक आधार नभएको तर्क नेपालको थियो।
'अब सरकारको नेतृत्व गर्ने पालो नेपाली कांग्रेसको हो,' नेपालले भने, 'पार्टीका कारणले नेपाली कांग्रेस प्रधानमन्त्रीबाट पञ्छिन्छ भने नेकपा एमालेले नेतृत्व लिन तयार छ।' उनले चक्रीय प्रणलीअनुसार पनि सरकारको नेतृत्व गर्ने पालो नेपाली कांग्रेसको भएको स्पष्ट पारे।
प्रधानमन्त्रीले कार्यकारी अधिकार प्रयोग गर्ने नाममा असंवैधानिक कदम चाल्दै गए त्यसका लागि प्रतिपक्ष दल चुप लागेर नबस्ने भन्दै उनले तत्काल प्रधानमन्त्री भट्टराईले सरकार छाडेमा माओवादीकै इज्जत जोगिने बताए। माओवादी धेरै महत्वाकांक्षी भएकाले समायोजनमा जान चाहेको लडाकुहरु पनि अवकासमा नै जान चाहेको चर्चा गर्दै नेपालले भने, 'माओवादी चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी।'
कार्यक्रममा युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले वर्तमान सरकार ढाल्न युवा संघले आन्दोलनको आँधीबेरी सिर्जना गर्ने बताए। अहिले युवा संघले आन्दोलनको सुरुवात गरिसकेको भन्दै यही आन्दोलनले प्रधानमन्त्रीले राजनीनामा दिन बाध्य हुनुपर्ने उनले बताए।
प्रकाशित: १७ श्रावण २०६९ ०३:३३ बुधबार