राजनीति

शीर्ष नेताहरूको बहिर्गमन अनिवार्य: एमाले, माओवादी र एससहित २८ युवाले उठाए आवाज

नेकपा (एमाले), माओवादी केन्द्र र एकीकृत समाजवादीमा आबद्ध २८ जना युवा नेताहरूले जेन-जी आन्दोलनको भावनालाई आत्मसात् गर्दै आ-आफ्ना पार्टीका शीर्ष नेताहरूलाई नेतृत्वबाट बिदा लिन र पार्टी पुनर्गठनका लागि मार्ग प्रशस्त गर्न आह्वान गरेका छन्।

उनीहरूले मंगलबार एक सामूहिक विज्ञप्ति जारी गर्दै लामो समयदेखि नेतृत्वमा बसेर राजनीतिलाई असफल बनाएका मुख्य पात्रहरूलाई बिदा नगरी दलहरूको पुनर्गठन असम्भव रहेको बताए।

विज्ञप्ति जारी गर्नेमा नेकपा (एमाले) का केन्द्रीय सदस्यहरू अशेष घिमिरे र उषाकिरण तिम्सिना समेत रहेका छन्। उनीहरूसँगै माओवादी केन्द्र र एकीकृत समाजवादीका युवा नेताहरूले पनि ऐक्यबद्धता जनाएका छन्।

उनीहरूले भ्रष्टाचारमुक्त राजनीतिको मागसहित उठेको जेन-जीको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले गरेको ‘कायरतापूर्ण आक्रमण र नरसंहार’ को निन्दा गर्दै शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

‘पार्टी र राज्य कब्जामा लिएपछि जे गरे पनि हुन्छ भन्ने राजनीतिक सम्भ्रान्तहरूलाई यस आन्दोलनले घुँडा टेकाएको छ,’ विज्ञप्तिमा भनिएको छ।

युवा नेताहरूले जेन-जी आन्दोलनको सन्देश स्पष्ट रहेको बताए। ‘भ्रष्टाचारमुक्त, पारदर्शी र परिणाममुखी राजनीति, साथै नेतृत्वमा सहज पुस्तान्तरण।’ तर, मुख्य दलका नेताहरूले अझै पनि यो सन्देश नसुनेझैं गरी विभिन्न बहानामा नेतृत्वमा रहिरहने छलछाम गरिरहेको उनीहरूको आरोप छ।

‘आन्दोलनको सन्देशलाई नसुन्नु वा नबुझ्नु घातक हुनेछ। यस्तो बहानाबाजीले मुलुकलाई अझै ठूला दुर्घटनातर्फ धकेल्नेछ,’ विज्ञप्तिमा चेतावनी दिइएको छ।

उनीहरूले आन्दोलनमा घुसपैठ गरी आगजनी र लुटपाट गर्नेहरूको निन्दा गर्दै निष्पक्ष छानबिनको मागलाई पूर्ण समर्थन जनाएका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिलाई लोकतान्त्रिक प्रक्रियामा अगाडि बढाउन दलहरूको पुनर्गठन आजको मुख्य शर्त हो।’ उनीहरूले आ-आफ्ना दलका दोस्रो र तेस्रो तहका नेताहरू तथा सम्पूर्ण जिम्मेवार सदस्यहरूलाई पार्टी पुनर्गठनको अभियानमा ढिलाइ नगर्नसमेत आह्वान गरेका छन्।

May be an image of blueprint and text

प्रकाशित: २१ आश्विन २०८२ १५:१८ मंगलबार