'पार्टी फुटाएरै भए पनि प्रचण्ड पुरानै संविधान ल्याउन खोज्दैछन्', वैद्य पक्षद्वारा गठित संयुक्त राष्ट्रिय जनान्दोलन समितिका प्रमुख गजुरेलले भने- त्यसका लागि हामीले सङ्घर्ष गर्नुको विकल्प छैन। तपाईँहरु त्यसका लागि तयार भएर बस्नुपर्छ।
पार्टीको कोचिला राज्य समितिका तीन दर्जन जति अगुवा कार्यकर्ता र स्वेच्छिक अवकाश रोजेका सय जनाभन्दा बढी लडाकु सहभागी प्रशिक्षणमा गजुरेलले अध्यक्ष पुष्पकमल दाहाल र प्रधान मन्त्री बाबुराम भट्टराईले 'जनसंविधान' को लाइन छोडेको भन्दै अब हुने सङ्घर्षले कि उनीहरुलाई जनसंविधानको लाइनमा ल्याउने या त 'परिस्थिति अर्कै ढङ्गले अघि बढ्ने' बताए।
वैद्य पक्षले चैत २० देखि सङ्घर्षका कार्यक्रम तय गरेको छ। अध्यक्ष दाहालले वैद्य पक्षसँग कुराकानी भएको भन्दै आफूपक्षीय केन्द्रीय सदस्यलाई आश्वस्त पारेको भालिपल्टै वैद्य पक्षले झापामा संस्थापनविरुद्ध भेला गरेको हो। 'यो वारपारको सङ्घर्ष हो', गजुरेलले भने- जनसंविधान जारी नभए हामी जस्तोसुकै मूल्य चुकाउन तयार हुन्छौं।
स्वेच्छिक अवकाश रोजेका लडाकुले पनि वैद्य पक्षको निर्देशनअनुसार अघि बढ्ने वचन उनलाई दिएका छन्। 'दाहाल र भट्टराईले क्रान्तिलाई धोका दिएका छन्' अवकाश रोजेका लडाकु कमाण्डर विवशले भेलामा गजुरेललाई आश्वस्त पार्दै भने- हामी तपाईंहरुले भनेबमोजिम अघि बढ्न तयार छौं।
प्रकाशित: १६ चैत्र २०६८ ०६:५४ बिहीबार