काग्रेस केन्द्रीय एवं संसदीय दलका नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमतिका लागि काग्रेसको भूमिका र जिम्मेवारीको बारेमा बैठकमा छलफल भएको बताए। बैठकले केन्द्रीय कार्यसमितिको पहिलो औपचारिक बैठक भने, आगामी १२ गते बस्ने तय भएको पौडेलले जानकारी दिए। बैठक संविधान निर्माण प्रक्रियामा देखापरेका विवादित मुद्दाहरूमा काँग्रेसको आधिकारित धारणा के गर्ने भन्ने विषयमा बढी केन्द्रीत थियो। 'संविधान निर्माण प्रक्रियामा देखापरेका विषयलाई कसरी नीतिगत छलफलमा लैजाने भन्नेबारेमा छलफल भयो,' पौडेलले भने। प्रवक्ता अर्जुननरसिंह के.सीले राजनीतिक गतिरोध अन्त्यका लागि माओवादी र एमालेसँग संवाद थाल्ने नीति लिइएको बताए। 'भोलीदेखि नै वहुपक्षीय र दिपक्षीय संवाद थाल्ने विषयमा छलफल भयो,' केसीले भने।
बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र अर्न्तगतको सहयोगी समितिमा काँग्रेसको तर्फबाट सदस्य रहेका रमेश लेखकले संविधान निर्माण प्रक्रियामा रहेका विवादका विषयमा नेताहरू जानकारी गराएपछि नेताहरूले त्यसमा धारणा राखेका थिए। प्रवक्ता के.सीले शान्ति प्रक्रिया, संविधान निर्माण र यसअघिको सहमति कार्यन्वयनको विश्वासीलो आधार बनाउने विषयमा छलफल केन्द्रीत भएको बताए। 'सम्पूर्ण रूपमा विषयलाई थाँती राखेर प्रधानमन्त्री निर्वाचन जस्ता विषयमा छुट्टै सहमति निर्माण हुन सक्दैन्,' केसीले भने। पार्टीको उमेदावारी शान्ति र लोकतान्त्रिक संविधान निर्माणका लागि भएको भन्दै प्रधानमन्त्री पदमा उमेदवारी फिर्ता नलिने बताए।
संविधान निर्माण, शान्ति प्रक्रिया लगायत बैठकमा केन्द्रीय समितिलाई पूर्णता दिने, आगामी दिनमा पार्टी सञ्चालन गर्ने कार्यविधिका विषय समेत छलफल भएको थियो। सभापतिमा पराजित बरिष्ठ नेता शेरवहादुर देउवा एक घण्टा ढिलागरी बैठकमा पुगेका थिए। बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीको जिज्ञासामा देउवाले आफूले केही नबोलेको र सुनेर मात्रै बसेको बताए। 'अब कसरी जाने भनेर सुशीलजीले काठमाडौमा उपलब्ध साथीहरू छलफल गर्नु भएको हो,' देउवाले भने, 'मैले सुने मात्रै।' तेस्रो धारबाट महामन्त्रीमा उमेदवारी दिएका नरहरी आचार्य र केन्द्रीय सदस्यमा पराजित नेताहरू विनयध्याज चन्द, रमेश लेखक र चिरञ्जीवि वाग्ले लगायतका नेता उपस्थित थिए। महाधिवेशनमा विजयी र पराजित भएका अधिकांश बरिष्ठ नेतालाई बोलाइएको भएपनि ३० जना जति मात्रै उपस्थित थिए। कतिपय नेताहरूले बैठक ढिला भएको भन्दै त्यसले बाहिर गतल सन्देश गइरहेको बताएका थिए।
केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले सभापतिको अस्वास्थता र दशैंका कारण बैठक बस्न ढिला भएको बताए। भागभण्डा विवादले बैठक बस्ने नसकेको हो भन्ने जिज्ञासामा श्रेष्ठले भने, 'भागभण्डाको प्रश्नै उठ्दैन्, ' उनले थपे, महाधिवेशनबाट सबै समान हुन् भन्ने प्रमाणित भएको छ।' उनले पार्टी भित्रका मान्छेको प्रोटोकल सबैलाई थाहा भएको भन्दै केन्द्रीय समितिको पूर्णताको लागि सभापतिले ल्याउँने प्रस्तावले देशव्यापी रूपमा पार्टीमा योगदान गरेकाहरू सम्मान गर्नसक्नु पर्ने भन्दै बैठकमा आफूले सो धारण राखेको जानकारी दिए।
बैठक स्थलमा प्रवेश गरेको केही समयपछि नै वाहिरिएकी केन्द्रीय सदस्य सुजता कोइरालाले आफू उपसभापनि हुनेमा विश्वस्थ रहेको बताइन्। 'म महामन्त्रीमा उठ्दै थिएँ, जित्थेँ पनि सभपति कोइराला, रामचन्द्र पौडेल, रामशरण महत, शेखरजीलगायतका नेताको उपसभापति बनाउँछु भनेपछि छाडेको हुँ।' उनले भनिन् 'मलाई उहाँहरूले बचन दिनुभएको छ, म ढुक्क छु।'
प्रकाशित: ४ कार्तिक २०६७ १३:५२ बिहीबार