राजनीति

रक्षक नै भक्षक हुनु भएन: प्रधानमन्त्री

काठमाडौं, असोज २५ (नागरिक) -५५ औं प्रहरी दिवसमा प्रमुख अतिथि बनेका प्रधानमन्त्री माधवकुमार नेपालले प्रहरीको प्रशंसाको साटो 'रक्षक नै भक्षक बन्दै गएको' भन्दै चिन्ता व्यक्त गरे। उनले राज्यले अपराध नियन्त्रणको जिम्मेवारी पाएको प्रहरी आफैं अपराधमा संलग्न भएकाले आफूलाई संवेदनशील बनाएको बताउँदै आचरण सुधार्न मञ्चबाटै निर्देशन दिए।
रक्षक नै भक्षक भन्दा कानुनी शासन र लोकतन्त्रप्रति नै अनास्था बढ्ने बताउँदै उनले नेपालगञ्जमा अपरणपछि हत्या गरिएका बालक लिलाधर भट्ट र कपिल द्धवेदीको अपहरण र कामठाडौंमा भएको लुटपाटमा प्रहरी संलग्न रहेको समाचारले आफु दुखीत भएको बताए।

अपहरणमा परेका बालक भट्ट र द्धिवेदीको अपहरणको अभियोगमा प्रहरी हवल्दार सकिर अली बेहाना पक्राउ परेका थिए। अपहरणको योजनाकार मेराज अहमद साईलाई हवल्दार बेहानाले सहयोग गरेको प्रहरीले दावी गर्दै आएको छ।

गोल्फुटार निवासी विष्णु न्यौपानेको घरमा लुटपाट गरेको अभियोगमा शनिबार महानगरिय प्रहरी बृत्तका प्रहरी जवान जितेन्द्र हजारा, कुशलचन्द्र भण्डारी र कोमलबहादुर बस्नेत पक्राउ परेका थिए।

'अपराधमा प्रहरीको संलग्नता रहेको समाचार सुन्दा म मर्माहत भएको छु' नेपालले भने'काठमाडौंमा चोरीको घटनामा प्रहरी नै संलग्न भएको समाचारले मलाई संवेदनशील बनायो।'

प्रहरीभित्र केही ब्यक्ति र गुटको स्वार्थको परिचालीत हुने गरेको गुनासो बारम्बार आउने गरेको उनले बताए।'ब्यक्तिगत र समुहको स्वार्थको पुरै संगठन परिचालित भयो भन्ने तपाईहरु नै गुनासो बोकेर आउनुहुन्छ, यसले संगठनको हित गर्दैन ' नेपालले भने'भ्रष्टाचार र अनाचारमा लाग्ने हैन,नकारात्मक परिणामवाट पाठ सिक्नुस।'

उनले गृहमन्त्री भिम रावल र प्रहरी महानिरिक्षक रमेशचन्द ठकुरीतिर फर्किदै मञ्चवाटै निर्देशन दिए, राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र खराव काम गर्नेलाई दण्डित गर्ने बैज्ञानीक पद्धतीको निर्माण गर्न म अहिलेनै निर्देशन दिन्छु।' उनले प्रहरीको सरुवा बढुवाबारे बढी नै गुनासो आउने गरेको बताउंदै बैज्ञानीक पद्धतीको विकास गर्नुपर्नेमा जोड दिए।

प्रकाशित: २५ आश्विन २०६७ ०७:०२ सोमबार