राजनीति

सञ्चारमन्त्रीको प्रश्नः ‘विष्णु पौडेल जोडिँदा अपराधी हुने, देउवा जोडिँदा पूर्वाग्रह?’

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा संलग्न कसैलाई पनि नछोडिने स्पष्ट पारेका छन्। 

बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका बाँस्कोटाले नेकपाका महासचिव विष्णु पौडेलसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि पनि छानविन हुने र दोषी पाइए कारवाही समेत हुने बताए। 

मन्त्री बाँस्कोटाले शेरबहादुरको नाम जोडिँदा पूर्वाग्रह राखिएको भन्ने आरोपमा पनि आपत्ति जनाए। ‘शेरबहादुर देउवा, सुवर्णसम्शेर जोडिँदा पूर्वाग्रह हुने, विष्णु पौडेल जोडिँदा अपराधी हुने? हामी कस्तो मूल्य पद्धती स्थापन गर्न खोज्दैछौं?’ उनले प्रश्न गरे, ‘सिरहाको कब्जा जग्गाको कुरा उठ्दैन। बालुवाटारमा बढाई चढाई गरियो, किनकी यहाँ नेकपाको महासचिव जोडिएको छ। सरकार सबैतिरको मिचिएको जग्गाको सूचना चाहन्छ। जान्न चाहन्छ।’ 

मन्त्री बाँस्कोटाले बालुवाटार जग्गा प्रकरणको छानविनका लागि उच्चस्तरीय आयोग बन्छ वा बन्दैन भन्ने स्पष्ट नभएको पनि बताए। सुशासन र सरकारी सम्पत्तिको रक्षा गर्न सरकारले जस्तोसुकै कदम चाल्ने उनको भनाई छ।

प्रकाशित: १९ वैशाख २०७६ १३:५८ बिहीबार

ललिता_निवास_प्रकरण विष्णु_पौडेल गोकुल_बाँस्कोटा शेरबहादुर_देउवा