राजनीति

काँग्रेस सुकिलामुकिलाको मात्र पार्टी भयो : तामाङ

विराटनगर, भदौ २५ (नागरिक)- कांग्रेस सभापतिका उम्मेदवार भीमबहादुर तामाङले व्यक्तिवादी प्रवृत्ति र गुटबन्दीले पार्टी सुकिलामुकिलाको मात्रै बनेको टिप्प्णी गर्दै त्यसको रूपान्तरण गर्न आफूले उम्मेदवारी दिएको बताएका छन्।

  'कांग्रेसमा व्यक्तिवादी र सुकिलामुकिलाको वर्चस्व छ, यस्ता खराब प्रवृत्ति हटाएर पार्टीलाई एकजुट बनाउन उम्मेदवारी दिएको हुँ,' प्रेस युनियन मोरङले बिहीबार राखेको सञ्चारकर्मी भेटघाटमा तामाङले भने।

पार्टीलाई क्रान्तिकारी धारमा लैजाने उनले बताए। 'कांग्रेस देउवा र कोइरालाको मात्र भयो,' उनले भने, 'हामीले यसलाई कांग्रेसीको बनाउन खोजेका हौं, कुनै कुमार वा बहादुरको होइन।'

कांग्रेसभित्र फरक विचार र गुटबन्दीको अन्त्य गर्ने जमातले आफूहरूलाई विजयी बनाउने उनको दाबी थियो।

तामाङ अहिले जिल्ला दौडाहामा छन्। महामन्त्रीका उम्मेदवार नरहरि आचार्य र नेता चक्रप्रसाद बास्तोला पनि चुनाव प्रचारप्रसारमा तामाङसँगै छन्। 'कांग्रेसमा देउवा र कोइरालालाई भोटै नहाल्नेको संख्या पनि अधिक छ,' बास्तोलाले भने, 'उनीहरूको समेत प्रतिनिधित्वका लागि हाम्रो उम्मेदवारी आवश्यक छ।'

उनले महाधिवेशनमा तामाङ प्यानलबाट आफूलगायत केन्द्रीय सदस्यहरूको उम्मेदवारी पनि चाँडै आउने बताए।

आचार्यले आफ्नो उम्मेदवारी कसैविरुद नभई गुटबन्दीविरुद्ध रहेको बताए। 'कांग्रेस रूपान्तरणको कुरा पहिल्यैदेखि उठाउँदै आएका हौं तर यसलाई नेतृत्व गर्ने कोही भएन', उनले भने।


गुरुङको उम्मेदवारी
तनहुँ संवाददाताका अनुसार महासमिति सदस्य एवं महाधिवेशन प्रतिनिधि गमप्रसाद गुरुङले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्। कांग्रेस लमजुङ पार्टी कार्यालयमा बिहीबार पत्रकार सम्मेलन गरी गुरुङले आदिवासी जनजाति आरक्षण कोटाबाट लड्ने जानकारी दिए।

यसैगरी, दोलखा संवाददाताका अनुसार, दोलखा र रामेछापका आठ नेताले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्।

दोलखाबाट केन्द्रीय सदस्यमा जिपछिरिङ लामाले खुलातर्फ, देवी न्यौपानेले जनकपुर अञ्चल कोटाबाट र राजेन्द्रलक्ष्मी सिवाकोटीले महिला कोटाबाट लड्ने बताएका छन्।


यस्तै, रामेछापबाट संसदीय दलका मुख्य सचेतक लक्ष्मण घिमिरेले जनकपुर अञ्चल कोटामा आङटावा शेर्पा र कान्छा लामाले जनजाति एवं मुक्तबहादुर महतले दलित कोटाबाट केन्द्रीय सदस्यमा चुनाव लड्ने घोषणा गरेका छन्। दोलखाकै पुराना नेता भीमबहादुर तामाङले यसअघि नै सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन्।

प्रकाशित: २४ भाद्र २०६७ २२:०७ बिहीबार