राजनीति

मुहार फेरिँदै परराष्ट्र

किरण भण्डारी - नौ वर्षअघि काठमाडौंमा भएको सार्क सम्मेलनमा भारतीय परराष्ट्र मन्त्रालयका उच्च अधिकारीमा महिला बर्चस्व देखेर नेपाली मन्त्री, प्रशासक, व्यापारी र पत्रकार खिन्न भए। परराष्ट्र सचिव चोकिला ऐयर, प्रवक्ता निरुपमा राव र अन्य डेस्कको नेतृत्व गरिरहेका महिला अधिकृतको आत्मविश्वास, विषयगत ज्ञान र प्रस्तुतिको सबैले प्रशंसा गरे। भारतको स्वतन्त्रता र नेपालमा राणा शासनको अन्त्य लगभग एकै समय भएको हो। तर, अन्य क्षेत्रमा जस्तै परराष्ट्र सेवामा नेपाल निकै पछि परेकोमा कार्यक्रमका सहभागीलाई लाजमर्नु भयो। भारतमा सबै उच्च अधिकारी महिला थिए। नेपालमा सिंगो परराष्ट्र र दुई दर्जन नियोगगरी जम्मा एकजना अधिकृत थिइन्, अम्बिकादेवी लुइँटेल।

सरकारले दुई वर्षदेखि निजामतीमा आरक्षण दिएपछि मुहार फेरिने सम्भावना देखिएको छ। यसले सरकारी जागिरमा महिला, दलित र जनजातिलाई आकर्षित गर्‍यो। परराष्ट्र अधिकृतमा हालै २८ मध्ये आधा महिला सफल हुनु यसैको उदाहरण हो।


यो परीक्षाले नेपालको परराष्ट्र सेवा केही दसकमा भारतजस्तै लैंगिक रूपले समान हुने आशा जगाएको छ। चिकित्सा पेसा छाड्नेदेखि विदेशमा उच्चशिक्षा हासिल गरेका महिला परराष्ट्र छिरेका छन्। कर्पोरेट, एनजिओ/आइएनजिओ, सञ्चार प्रतिष्ठान, बैंकिङ क्षेत्रमा आकर्षक ओहोदा र तलब बुझिरहेका महिलालाई त्योभन्दा कैयौं गुणा कम तलब पाइने परराष्ट्र सेवाले तानेको छ।


यो छलाङले परराष्ट्र र लोकसेवा आयोग सबभन्दा उत्साहित छन्। 'उनीहरूको क्षमता र सफलताले महिलालाई आरक्षणै चाहिँदैन कि जस्तो देखिएको छ,' लोकसेवाका सदस्य टीकादत्त निरौलालो भने।

 


लोकसेवामा वर्षौंदेखि तयारी गर्ने र पटकपटक असफल भएपछि मात्र उत्तीर्ण हुने प्रचलन पनि अहिले फेरिएको छ। सफल भएकामध्ये आधाभन्दा बढी पहिलोपटक परीक्षामा सामेल भएर सबभन्दा आकर्षक सेवाको अधिकृत भए। तिनमा सम्पन्न परिवारमा जन्मेकादेखि निरक्षर कमजोर आर्थिक अवस्थाका बाबुआमाकी छोरीसमेत छन्। पहिलोपटक एकसाथ परीक्षामा साफल भएर एक जोडी अर्को रेकर्ड राख्न सफल भए।

श्रीमान-श्रीमती नै पास
गुल्मीका घनश्याम भण्डारी पाँच वर्षदेखि विभिन्न क्याम्पसमा अंग्रेजी पढाउँथे। त्यही क्रममा दुई वर्षअघि ललिता सिलवालस"ग उनको चिनजान भयो। भण्डारी तीक्ष्ण क्षमताकी सिलवालबाट आकर्षित भए। बिए सिध्याएपछि उनीहरूले बिहे गरे।
काठमाडौं मोडेल कलेजमा अंग्रेजी पढ्ने सिलवाल एमए पहिलो वर्ष 'नेपाल प्रथम' भइन। विश्वविद्यालय सेवामा घुसेको राजनीतिले भण्डारीलाई निराश बनाउ"दै लगेको थियो। अध्ययन-अध्यापनमा रुचि भए पनि उनले पेसा फेर्ने निधो गरे।
उनको गाउँमा लोकसेवाको 'क्रेज' थियो। परराष्ट्र सबभन्दा राम्रो हुन्छ भनेर फारम भरे। श्रीमतीले पनि सँगै फर्म भरिन्। चारवटा कलेज पढाउने श्रीमानले कोचिङ पढ्न भ्याएनन्। ललिता भने कोचिङ गइन्। दुवैले सहअध्ययन गरे। 'म लोकसेवाबारे थाहै नभएकी पनि परराष्ट्रको जागिरे भएँ,' ललिताले भनिन, 'पढाइ पनि एउटै, काम पनि उही हुने भयो।' परराष्ट्रको खुलातर्फ भण्डारी पहिलो भए भने ललिताले ७ नम्बरमा नाम निकालिन्।


आरक्षण चाहिन्नँ : प्रथमा उप्रेती
चार वर्षअघि खरिदारबाट परराष्ट्रको जागिर सुरु गरेकी प्रथमा उप्रेती नासु हुँदै अधिकृत भएकी छन्। ग्रामीण विकासमा स्नातकोत्तर उनी ब्रसेल्सस्थित दूतावासमा कार्यरत थिइन्।


परीक्षाका लागि एक महिना छुट्टी लिएर आएकी उनी कूटनीतिज्ञ बन्ने अठोटले सफल भएको बताउँछिन्। 'महिलाहरू धेरै सशक्त भइसके, अब आरक्षण चाहिन्नँ,' नतिजाबाट उत्साहित हुँदै उनले भनिन्।


पत्रकारिताबाट अधिकृत
मुदिता बज्राचार्य
नया" मानिस र चुनौती सामना गर्न तत्पर मुदिता बज्राचार्यको करिअरमा परराष्ट्र सेवा तेस्रो फड्को हो। पाँच वर्षको अंग्रेजी पत्रकारिता त्यागेर आइएनजिओ हुँदै नयाँ ज्ञानको खोजीमा उनी परराष्ट्र आइपुगेकी छन्। 'महिला, बालबालिका, विदेश मामिला, जलस्रोत मामिलामा रिपोर्टिङ गर्दाजस्तै विभिन्न क्षेत्रमा काम गरेर विविध अनुभव गर्न पाइन्छ भनेर लोभिएकी छु,' उनले भनिन्।

निष्पक्षै हुँदो रैछ
सावित्रा ओली

सावित्रा ओलीले दाङ, हापुरको रत्नपुर माध्यमिक विद्यालयबाट २०५५ मा एसएलसी पास गरिन। क्याम्पस पढाउनसक्ने गच्छे थिएन। निरक्षर बुबा, आमालाई जेठी छोरीले पढोस् भन्ने चाहना थियो। प्राइभेट दिएर आइए पास गरिन। पर्म, मेलापात भ्याएर पनि छोरीले पढी भनेर सबै फुरुंग भए। दाजुलाई साउदी अरव जाने अवसर जुर्‍यो।


खर्चको जोहो भयो। सावित्रीले दाङकै क्याम्पस भर्ना भएर बिए पढिन्। जाँच राम्रै भयो। खाडीमा दाजुको कमाइ पनि केही बढ्यो। उनी काठमाडौं आएर एमए पढ्न थालिन्। अंग्रेजी पढ्न कीर्तिपुरमा भर्ना भइन्। दोस्रो वर्षको जाँच पनि भइसकेको छ।


सोर्स फोर्स नहुनेले लोकसेवाबाहेक अन्यत्र जागिर पाउँदैन भन्ने सुनेकी उनले गाउँकै एकजना खरिदार दाजुले हौस्याएपछि कम्मर कसेर पढ्न थालिन्। अरू साथी तयारी कक्षा पढ्दा रहेछन्। शुल्क महंगो थियो। उनलाई भने दाजुमाथि भार थप्न मन लागेन। केही किताब बटुलेर आफैं स्वअध्ययनमा लागिन्। सामान्य प्रशासन समूह, संसद र परराष्ट्र सेवाका खुला तथा महिला कोटामा परीक्षा दिइन्। परराष्ट्रको रिजल्ट चाँडै भयो दुवैतिर नाम निस्कियो।


सरकारी जागिर नै नखाएको परिवारबाट उनी हाकिम बन्न सफल भइन। गाउ"मा बुबाआमालाई फोन गरिन्। परदेशमा दाजुले बगाएको पसिनाले सार्थकता पायो भनेर खवर गरिन्। दाजु भक्कानिए। सामान्य लेखपढ मात्र गर्न जान्ने दाजुले आफ्नो मिहेनत सफल भएको भनि उनलाई धन्यवाद र बधाई दिए।
लोकसेवाको निष्पक्षताबारे सुनेका किम्बदन्ती आफूले साँच्चिकै भोग्न पाएको उनी बताउँछिन्।

प्रकाशित: १९ भाद्र २०६७ ००:५१ शनिबार