राजनीति

प्रधानसेनापति थापाद्वारा जितगढी किल्लाको अवलोकन

रुपन्देही - प्रधानसेनापति पूर्णचन्द्र थापाले तत्कालिन अंग्रेज साम्राज्यलाई परास्त गरेको बुटवल जितगढी किल्लाको बुधबार अवलोकन गरेका छन्। बुटवल उपमहानगरपालिकाले जितगढीमा तत्तकालिन अंग्रेज फौजलाई हराएका कर्णेल उजिर सिंहको पूर्ण कदको शालिक निर्माण भइरहेको बेला सेनापति सहितको विशेष टोलीले किल्ला क्षेत्रको अवलोकन गरेको हो।

सेनापतिले बुटवल उपमहानगरपालिकाले नेपालीहरुको विरताको प्रतिकको रुपमा रहेको किल्लाको संरक्षण गरेर नमूना काम गरेको बताए। उनले उपमहानगरले अगाडि सारेको अभियानको प्रंशशा गर्दै त्यसलाई पूरा गर्ने काममा आफुहरुले पनि सहकार्य गर्ने प्रतिबद्धता जनाए।

जितगढीको विकासका लागि मणिमुकुन्द सेन दरबार क्षेत्र, नुवाकोट गढी, पाल्पाको तानसेनक्षेत्र, स्यूराज, अर्घाखाँचीस्थित पृथ्वीनारायण शाहको मावलीलगायतका क्षेत्रहरुलाई जोडेर इतिहास जिवित राख्ने क्षेत्रका रुपमा विकास गरिने प्रधानसेनापतिको भनाइ थियो। नेपाल एकीकरणपूर्व र पश्चातका विभिन्न किल्लाहरु, सामरिक महत्वका क्षेत्रहरु, गढीहरुलाई जोडेर नेपाली सेनाले विशेष अध्ययन गरिरहेको पनि जानकारी दिए।

उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जितगढीमा नेपालकै ठूलो राष्ट्रिय झण्डा र स्वर्गीय कर्णेल उजिरसिंह थापाको पूर्ण कदको शालिक बनाउने जानकारी गराए। उनले जितगढीमा नेपाली सेनाले पनि नियमित ड्यूटी गर्ने गरी व्यवस्था मिलाउनुपर्ने र तत्कालिन अवस्थाको युद्धकला झल्किने संग्रहालयका लागि पनि सहयोग गर्न प्रधानसेनापतिसमक्ष आग्रह गरे।

नेपाली फौजले अंग्रेज फौजलाई हराएर विजय प्राप्त गरेको ऐतिहासिक स्थल जितगढीको महत्वलाई उजागर गर्दै पर्यटकीय स्थलको रुपमा विकास गर्ने उद्देश्यले उपमहानगरपालिकाले ९ फिट उचाईको तामाको पूर्णकदको शालिक र ९ फिट उचाईकै झण्डा बनाएर राख्न थालेको हाे। वि.सं. १८७२ बैशाख ७ गते जितगढीमा अंग्रेज–नेपाल युद्धका क्रममा नेपाली सेनाले विजय प्राप्त गरेको २०३ वर्ष पुगेको अवसरमा गत वर्षदेखि उपमहानगरले जितगढी विजय उत्सव दिवस समेत मनाउन थालेको थियो। जितगढीको सामरिक महत्वबारे बेलायत सरकारसँग समन्वय गरी बेलायती नागरिकलाई नेपाल भ्रमणका अवसरमा जितगढी किल्लासम्म ल्याउन पहल गरिने पनि उपमहानगरपालिकाको योजना रहेको उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए। 

 

प्रकाशित: ४ पुस २०७५ १२:२२ बुधबार

पूर्णचन्द्र_थापा जितगढी_किल्ला