क्रियाशील सदस्यता छानबिन समितिका संयोजक नरहरि आचार्यका अनुसार ६६-८० उमेरका समूहका वृद्ध सदस्य ४. ५५ प्रतिशत (१४,२३०) छन् भने ८१ वर्ष नाघेका मात्रै ८ सय ५१ जना छन्।
तथ्यांकले कांग्रेसमा प्रौढ बाहुल्य देखाए पनि यस वर्ष मात्र क्रियाशील सदस्यता लिनेको संख्या भने पुरानाको भन्दा झन्डै ५० हजार बढी छ। नवीकरण गर्ने पुराना क्रियाशील १ लाख २९ हजार ९ सय ८९ छन् भने नयाँ क्रियाशीलको संख्या १ लाख ८२ हजार ३३ छ।
पार्टीमा लगातार दुई वर्ष सक्रिय साधारण सदस्यले क्रियाशील सदस्यता पाउने विधान व्यवस्था छ। गत कात्तिकको महासमिति बैठकले गाउँ समितिदेखि केन्द्रीय समितिसम्म महिला, आदिवासी, जनजाति, दलित, मधेसी, मुस्लिम अल्पसंख्यकको नाममा आरक्षणको नयाँ व्यवस्था गरेकाले नयाँ कांग्रेसीको संख्या ह्वात्तै बढेको नेताहरू बताउँछन्। पार्टीलाई समावेशी बनाउने नीतिअनुसार कांग्रेसले प्रत्येक निर्वाचन क्षेत्रबाट पाँचजना आरक्षित महाधिवेशन प्रतिनिधि छान्ने व्यवस्था गरेको छ। जसअनुसार १ हजार २ सय आरक्षित महाधिवेशन सदस्य हुनेछन्। नयाँ विधानमा यसै वर्ष क्रियाशील सदस्यता लिएकाहरू पनि महाधिवेशन प्रतिनिधि र क्षेत्रीय सभापतिसमेत बन्न सक्ने लचिलो व्यवस्था छ। यसअघि महाधिवेशन प्रतिनिधि हुन कम्तीमा ५ वर्ष र क्षेत्रीय सभापति हुन कम्तीमा तीन वर्ष क्रियाशील सदस्य हुनुपर्ने व्यवस्था थियो।
नयाँ सदस्यता लिनेमा आधाजति युवा रहेको तथ्यांक संकलनमा संलग्न रामचन्द्र घिमिरे बताउँछन्।
कांग्रेसमा युवा प्रतिनिधिले महाधिवेशनमा उल्लेखनीय भूमिका खेल्ने अनुमान गरिँदैछ। तर केन्द्रीय निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिको उमेरसमूह, जातजातिको विश्लेषणात्मक प्रतिवेदन अहिलेसम्म तयार पार्न भ्याएको छैन। निर्वाचन समितिका सदस्य प्रकाश राउत भन्छन्, 'यकिन तथ्यांक आइसकेको छैन।'
अघिल्लो साता मात्र क्रियाशील सदस्य विवाद सुल्भि्कएको भक्तपुर कांग्रेसका उपसभापति गणेशमान चक्रधर बताउँछन्। 'नयाँ क्रियाशील सदस्यता लिने अधिकांश युवा छन्। युवाहरूको जमातै कांग्रेसमा आएको छ,' उनले भने।
निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारी नयाँ क्रियाशीलको संख्या बढ्नुमा आरक्षणलाई प्रमुख कारण मान्छन्। 'अब कांग्रेस नेतृत्वमा बटमदेखि नै परिवर्तन आउँछ।'
केन्द्रीय सदस्य भीष्मराज आङदेम्बेले आरक्षणको नीति ढिलो ल्याइएको बताए। 'आरक्षणले कांग्रेसलाई नयाँ गति दिएको छ,' उनी भन्छन्, 'पहिले क्रियाशील सदस्यता थमाउने गरिन्थ्यो, अहिले युवाहरू आफैँ आएर लिन थालेका छन्।'
नेता आचार्यले आरक्षणका कारण कांग्रेसमा ठूलो संख्यामा नयाँ जमात आएको जानकारी दिँदै भने, 'महाधिवेशन परिणाम अब नयाँ ढंगको आउन सक्छ। नयाँ प्रतिनिधिका कारण कांग्रेसको परम्परागत गुटबन्दी भत्कने सम्भावना छ।'
राजनीतिक शास्त्रका प्राध्यापक लोकराज बराल आरक्षण राम्रो भए पनि यसको परीक्षण हुन बाँकी रहेको बताउँछन्। राजनीतिक विश्लेषक पुरञ्जन आचार्य भने आरक्षणबाट कांग्रेस समावेशी बनेको तर यसले नेतृत्वको गुणात्मक पक्ष कमजोर पार्ने बताउँछन्।
आरक्षणले कांग्रेस महाधिवेशनमा कम्तीमा ४ सय ८० महिला, २ सय ४० दलित, २ सय ४० आदिवासी जनजाति र २ सय ४० मधेसी, मुस्लिम वा अल्पसंख्यक महाधिवेशन प्रतिनिधि आउनेछन्। आरक्षणले कांग्रेसको ८५ सदस्यीय केन्द्रीय समितिमा कम्तीमा सातजना महिला सदस्य हुनेछन्। त्यस्तै, २ महिलासहित ६ जना दलित, २ महिलासहित ६ जना आदिवासी जनजाति, २ महिलासहित ६ जना मधेसी र २ मुस्लिम केन्द्रीय सदस्य हुनेछन्।
कांग्रेस क्रियाशील सदस्यमा महिला ५२ हजार ९३ अर्थात् १६. ७ प्रतिशत, दलित ३ हजार अर्थात् १ प्रतिशत बढी छन्। महाधिवेशनमा यसपटक महिला निर्णायक बन्ने केन्द्रीय सदस्य उमा अधिकारी बताउँछिन्।
प्रकाशित: २५ श्रावण २०६७ १७:१६ मंगलबार