राजनीति

बाढी प्रभावित क्षेत्रमा कालिमाटीबाट १६ हजार किलो तरकारी पठाइयो

भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकहरूका लागि कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीको पहलमा १६ हजार ६ सय किलो ताजा तरकारी तथा अत्यावश्यक राहत सामग्री पठाइएको छ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले गत भदौ १३ देखि १५ गतेसम्म विभिन्न चरणमा उक्त परिमाणको तरकारी प्रभावित क्षेत्रमा पठाएको हो।

समितिका अनुसार भदौ १३ गते पहिलो चरणमा त्रिशूलीका लागि ५ हजार किलो हरियो तरकारी पठाइएको थियो। यसैगरी, भदौ १४ गते त्रिशूलीतर्फ २ हजार ५ सय किलो सिमी, भेडे खुर्सानी, बन्दा, प्याज र आलु तथा सोही दिन धादिङका लागि २ हजार ८ सय किलो हरियो तरकारी पठाइएको थियो।

यस्तै, भदौ १५ गते धादिङका लागि १ हजार ३ सय किलो (लौका, करेला, घिरौँला, बोडी, सिमी र फर्सी) तथा थप २ हजार ५ सय किलो (आलु, लौका, घिरौँला, काँक्रो र टमाटर) गरी कुल ३ हजार ८ सय किलो तरकारी ढुवानी गरिएको थियो।

सोही दिन त्रिशूलीका लागि २ हजार ५ सय किलो तरकारी (लौका, करेला, घिरौँला, बन्दा र भण्टा) का साथै चामल, लत्ताकपडा र साबुनसमेत पठाइएको मन्त्रालयले जनाएको छ।

विपद्को घडीमा प्रभावित नागरिकलाई आवश्यक खाद्य सामग्रीको सहज पहुँच सुनिश्चित गर्न स्थानीय तह, कृषक, व्यापारी तथा सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय भइरहेको मन्त्री चौधरीले जानकारी दिएकी छन्।

मन्त्रालयले आगामी दिनमा पनि आवश्यकताअनुसार प्रभावित क्षेत्रमा थप खाद्य तथा राहत सामग्री पठाउने जनाएको छ।

प्रकाशित: १६ भाद्र २०८३ १९:२८ मंगलबार