नेपाली कांग्रेसभित्र १५औं महाधिवेशन मितिलाई लिएर तीव्र विवाद भइरहेका बेला नेता शेखर कोइरालाले सहमतिका लागि छलफल अघि बढाएका छन्। महाधिवेशन फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनअघि कि पछि भन्ने विवादमा अल्झेको केन्द्रीय समिति बैठक अनिर्णयको बन्दी भएका बेला शेखर सहमतिका लागि सक्रिय भएका हुन्।
कांग्रेस बैठक भदौ २३ को हिंसा र २४ को विध्वंशपछिको अवस्थामा मुलुकलाई कसरी निकास दिने भन्नेमा केन्द्रित हुने धेरैको अपेक्षा थियो। महाधिवेशन मिति विवादले पार्टी नै विभाजनमै पुग्ने त होइन भन्ने आशंका भइरहेका बेला कोइरालाले कार्यबाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग छलफल थालेका हुन्। पार्टी सभापति शेरबहादुर देउवानिकट नेताहरू फागुन २१ पछि महाधिवेशन गर्नुपर्ने पक्षमा छन्।
महामन्त्रीद्वय थापा र शर्मा मंसिरभित्र नियमित महाधिवेशन सम्भव नभए पुसभित्र विशेष महाधिवेशन गर्नुपर्ने अडानमा छन्। विधानको व्यवस्था अनुसार ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरिसकेको अवस्थामा त्यसलाई नजरअन्दाज गर्न नसकिने उनीहरूको तर्क छ।
विशेष महाधिवेशन पक्षधरको हस्ताक्षर सनाखत गराएर प्रक्रिया अघि बढाउनुपर्ने माग उनीहरूको छ। संस्थापन पक्ष हस्ताक्षर सनाखतको पक्षमा देखिएको छ। यसले पार्टीलाई विभाजन गर्न सक्ने कोइरालाले बताउँदै आएका छन्। ‘विशेष महाधिवेशनको माग गर्ने ५५ प्रतिशत साथीहरू जो हुनुहुन्छ। त्यसमा हस्ताक्षर प्रमाणीकरण सुरु गरेको दिनदेखि नै विभाजन हुने सम्भावना हुन्छ,’ कोइरालाले मंगलबार पार्टी कार्यालयमा सञ्चारकर्मीसँग भने, ‘४० प्रतिशत मात्रै पुगेर महाधिवेशनमा गयौं भने पनि विभाजन त भयो नि। बाँकी ६० प्रतिशत विभाजित हुने सम्भावना देखियो। पार्टी विभाजनतिर नजाओस् भनेर हामीले केन्द्रीय समिति बैठकबाटै निर्णय खोजेका हौं। हामी सहमतिका लागि प्रयासरत छौं।’
कोइरालाले निर्वाचनपछि र अघि महाधिवेशन गर्नुपर्नेमा अडिग रहेका दुवै पक्षलाई अडानबाट पछि हट्न भेटेरै पटकपटक आग्रह गरेका छन्। कार्यबाहक सभापति खड्कासँगको भेटमा कोइरालाले निर्वाचनअघि महाधिवेशन गरेर जानुपर्ने र त्यसका लागि केन्द्रीय समिति बैठकमा पेस भएका दुई कार्यतालिका मिलाएर अर्को ल्याउन सुझाएको स्रोतको दाबी छ।
उनले पुस अन्तिमसम्म नियमित महाधिवेशन गर्नेगरी अघि बढ्न खड्कालाई आग्रह गर्दै आएका छन्। त्यस्तै उनले महामन्त्रीद्वयसमक्ष पनि विशेष महाधिवेशन माग गर्ने प्रतिनिधिहरूको भावना समेटेर पुस अन्तिमसम्म नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका छन्।
विशेष महाधिवेशनबाट कार्यकर्ताले चाहेअनुसार पार्टीमा परिवर्तन नहुने भएकाले तलदेखि माथिसम्म र माथिदेखि तलसम्म नेतृत्व परिवर्तनका लागि नियमित महाधिवेशन गर्नुपर्ने धारणा कोइरालाले राख्दै आएका छन् तर महामन्त्रीहरूले कोइरालाको प्रस्तावमा कुनै निर्णय वा धारणा नदिएको निकट स्रोतको दाबी छ। खड्काले भने सहमतिबाटै निकास निकाल्ने आश्वासन दिएको स्रोतको दाबी छ।
कोइरालाले निकासका लागि अन्य नेतासँग पनि परामर्श गरिरहेको स्रोत बताउँछ। निर्वाचनअघि महाधिवेशनको कार्यतालिका ल्याउने र विशेष महाधिवेशन माग गर्नेलाई पनि चित्त बुझाएर अघि बढ्ने गरी कोइरालाले छलफल थालेका हुन्।
असोज २८ गतेदेखि सुरु केन्द्रीय समिति बैठक बिचबिचमा रोकिँदै चलिरहेको छ। केन्द्रीय समितिको मंगलबारको बैठकमा बोल्ने नेताहरू आआफ्नै तर्क पेस गरेका छन्। केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राखेर विशेष होइन, नीति महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका छन्।
कार्कीलाई उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘ १४औं महाधिवेशनका झन्डै ५४ प्रतिशत प्रतिनिधिहरूले सहीछाप गरेर विशेष महाधिवेशन माग गर्नु भएको छ। यो निर्वाचनअघि गरौं र पार्टीले लिने नीतिका विषयमा छलफल गरौं। निर्वाचनपछि वैशाख/जेठमा नियमित महाधिवेशन गरौं। त्यसबाट नेतृत्व चयन गरौं।’
निर्वाचनको मुखमा कांग्रेसले प्रतिशतमा अल्झेर समय बर्बाद गर्न नहुने उनको भनाइ थियो।
बैठकमा सहमहामन्त्री जीवन परियारले मंसिर वा पुसभित्र महाधिवेशन गर्नुपर्ने धारणा राखे । ५४ प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशनका लागि गरेको हस्ताक्षरलाई बेवास्ता गर्न नहुने बताएका परियारलाई उद्धृत गर्दै अर्का एक सदस्यले भने, ‘विशेष अधिवेशन होइन, नियमित महाधिवेशन गर्नुपर्छ। विशेष माहाधिवेशन गर्ने साथीहरूलाई पनि सम्बोधन गरेर चाँडै निष्कर्षमा पुग्नुपर्छ।’
केन्द्रीय सदस्य दीपक गिरीले जेनजी आन्दोलनलाई ‘भण्डारखाल’ पर्वसँग तुलना गरे। यस्तो अवस्थामा बसेको केन्द्रीय समिति बैठकमा पार्टी एकताको आवाज उठ्नुपर्नेमा नेताहरू स्वार्थकेन्द्रित भएको उनको गुनासो थियो। नेताहरूलाई चार तारा, रूखबारे सोच्न र धेरै व्यक्तिवादी नहुन आग्रह गर्दै उनले भने, ‘चार तारालाई हेरौं, सहिदलाई सम्झौं। एकतामा जाऔं, अब धेरै नाटक नगरौं।’
केन्द्रीय सदस्य मीन विश्वकर्माले महाधिवेशनबाट फागुन २१ को निर्वाचन तयारी थाल्नुपर्ने तर्क गरे। नियमित कि विशेष महाधिवेशन भनेर वकालतमा समय खेर फाल्न नहुने भन्दै विश्वकर्माले नियमित महाधिवेशनले पार्टी जीवनमा रुपान्तरण ल्याउने तथा आमनिर्वाचनले जनतामा आशा भर्ने र सिंगो मुलुकलाई सही दिशामा लैजान मद्दत गर्ने तर्क गरे।
केन्द्रीय सदस्य सदस्य प्रकाश स्नेही रसाइलीले शीर्ष नेताहरूकै जिल्ला र क्षेत्रबाट क्रियाशील सदस्यता नवीकरण र वितरणमा सहयोग नभएको गुनासो गरे। ३६ पटक ताकेता गर्दा पनि सदस्यता नआएको गुनासो उनले गरे।
दुई महामन्त्रीलाई जिम्मा लगाऔं: रिजाल
कांग्रेस केन्द्रीय सदस्य मीनेन्द्र रिजालले फागुन २१ ग्ते हुने निर्वाचनको सम्पूर्ण जिम्मेवारी दुई महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई दिन प्रस्ताव गरेका छन्। केन्द्रीय समिति बैठकमा रिजालले पार्टी सभापतिसहितका अनुहार लिएर आगामी निर्वाचनमा जान नसकिने सार्वजनिक अभिव्यक्तितर्फ संकेत गर्दै रिजालले टिकट वितरण गर्नेदेखि सम्पूर्ण जिम्मेवारी महामन्त्रीद्वयलाई दिन सुझाएका हुन्।
१४औं महाधिवेशनपछिका विभिन्न घटनाक्रमको स्मरण गर्दै रिजालले भने, ‘चार महिना पार्टीको जिम्मेवारी २ महामन्त्रीलाई दिऔं। चुनाव जिताएर आउनुभयो भने ठिक छ, राम्रो गर्नु भयो भनेर उहाँहरूलाई जिम्मेवारी दिएर तपाईं हामी बिदा हुम्ला। सक्नु भएन भने उहाँहरू बिदा हुनुहुन्छ अनि फेरि तपाईं ‘बुढाहरू’ आउनु होला नि त।’
पार्टीमा पुस्तान्तरण र रुपान्तरणका विषयमा भइरहने छलफलबारे टिप्पणी गर्दै रिजालले भने, ‘बुढाजतिलाई एकातिर राखेर उमेरदारलाई राम्रो ठाउँमा राखौं।’
रिजालले नहुने महाधिवेशन मिति नतोक्न सुझाए। संस्थापन पक्षसँग केन्द्रीय समितिमा बहुमत रहेको संकेत गर्दै रिजालले भने, ‘तपाईंहरू वैशाखमा महाधिवेशनको मिति तोक्नुहोस्। हामी बिरोध गरौंला। अनि हामी विशेष महाधिवेशन गर्न लागौंला।’
पार्टीमा माग भएको विशेष महाधिवेशन टार्न नसकिने भन्दै उनले प्रक्रिया थाल्न आग्रह गरे।
उनले पछिल्लो तीन वर्षमा आफूलाई किनारामा पारिएको र छेउमा बसेर हेरिरहेको जनाउँदै अहिलेको अवस्था आउनुमा कोको जिम्मेवार हो भन्ने प्रश्न गरे। ‘तीन वर्षदेखि किनारामा बसेको मान्छे हुँ। पार्टी कसैले चलाएको छैन भन्ने भनाइ गलत हो,’ उनले भने, ‘सभापतिबाहेक अरू कसैको दोष छैन भनेर पास गर्ने हो भने त्यसै गरौं।’
उनले चुनावमा गठबन्धन गर्न पाइँदैन भनेर नारा पनि लगाउने र गठबन्धन पनि गर्न नछाडेको बताए।
उनले नेताहरूलाई ढुलमुलेपन त्यागेर स्पष्ट दिशामा अघि बढ्न सुझाए। रिजालले २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनको म्यान्डेट छ कि गुमिसकेको हो, यसमा नेताहरू किन दुईतिर उभिएको भन्ने प्रश्न गरे। रिजाललाई उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘नेपालको लोकतन्त्र सानो गल्लीमा अड्केको छ, संविधान धरापमा छ। त्यसलाई जोगाउने कि गठबन्धनको मोहमा लतारिने? निर्णय गर्नुपर्छ।’
प्रकाशित: २६ कार्तिक २०८२ ०८:१० बुधबार