राजनीति

उद्योग मन्त्री भण्डारी र खाद्य तथा कृषि संगठनका प्रतिनिधिबिच भेटवार्ता

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग खाद्य तथा कृषि संगठनका नेपाल तथा भूटानका प्रतिनिधि केन शिमिजुले शिष्टाचार भेट गरेका छन्।

भेटका क्रममा मन्त्री भण्डारीले नेपाल र खाद्य संगठन सन् १९५१ देखि नजिक र फलदायी साझेदारीमा रहेका र खाद्य संगठनको प्राविधिक तथा नीतिगत सहयोगले नेपालको कृषि विकास र खाद्य सुरक्षाका लक्ष्यहरूलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेको बताए।

यहाँको सिँचाइ प्रणालीलाई आधुनिक बनाउने, बाली उत्पादनमा सुधार गर्ने, प्राकृतिक स्रोतहरू दिगो तरिकाले व्यवस्थापन गर्ने र २०१५ को भूकम्प तथा कोराना महामारीजस्ता विपद्हरूमा प्रभावकारी रूपमा प्रतिक्रिया जनाउनेमा खाद्य संगठनको सहयोगको लागि धन्यवाद दिए।

साथै, भविष्यमा नेपाल र खाद्य संगठनबीचको साझेदारी अझ बलियो र गहिरो हुने विश्वास गर्दै खाद्य सुरक्षा सुदृढ पार्न, ग्रामीण जीविकोपार्जनमा सुधार ल्याउन, विपद् जोखिम न्यूनीकरणका लागि क्षमता निर्माणमा निरन्तर सहयोगको लागि अपेक्षा राखे।

यसै बीच मन्त्री भण्डारीले नेपालको खाद्य निर्यात, यसमा भोगिरहेको कठिनाई र औद्योगिक वौद्धिक सम्पत्ति संरक्षण सम्बन्धी समस्याको कानुनी रुपमा समाधान गर्न यस मन्त्रालयबाट औद्योगिक सम्पत्ति विधयेक, २०८२ संघीय संसदमा दर्ता भई विचाराधीन अवस्थामा रहेको समेत जानकारी गराए। 

प्रकाशित: २४ असार २०८२ १७:२४ मंगलबार

#NagarikNews