प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् रामको जन्मभूमि नेपाल नै भएको तथ्यलाई विश्वमाझ प्रचार गर्न डराउन नहुने बताएका छन्।
उनले यस्ता सांस्कृतिक र ऐतिहासिक वैभवलाई पर्यटन प्रवर्द्धनसँग जोड्नुपर्नेमा जोड दिए।
नेकपा (एमाले) को केन्द्रीय पर्यटन विभागले आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्ता विषयमा सत्य बोल्दा कसैको दबाब वा आलोचनाबाट हच्किन नहुने स्पष्ट पारे। ‘साँचो बोल्दा को रिसाउँछ जस्तो गर्छौँ भने हामीले के गरी खान्छौँ ?’ उनले प्रश्न गरे।
उनले यी दाबीहरू आफ्नो व्यक्तिगत नभई प्राचीन ग्रन्थहरूमा आधारित रहेको बताए। प्रधानमन्त्री ओलीले भने, ‘विश्वामित्रले वाल्मीकिलाई हाम्रै कोशीपारी चतरा गाउँमा शिक्षा दिएका हुन्। राम–लक्ष्मणले अश्वमेघ घोडा यही भूमिमा छाडेका हुन्। दशरथ यहीँका हुन्। यही कुराहरू मैले भनेको होइन, ग्रन्थहरुमै उल्लेख छ।’
प्रधानमन्त्री ओलीले यस्ता विषयलाई राजनीतिक दाउपेचको रूपमा नभई नेपालको पहिचान र पर्यटनको आधार बनाउनुपर्ने धारणा राखे।
उनले यस्ता ऐतिहासिक र पौराणिक कथाहरूलाई डिजिटल सामग्री बनाएर विश्वभर आक्रामक रूपमा प्रचार गर्न पर्यटन सम्बद्ध निकायहरूलाई निर्देशन दिए।
उनले नेपालको पर्यटनलाई परम्परागत शैलीबाट माथि उठाएर यहाँको प्राकृतिक सौन्दर्य, हिमाल र सांस्कृतिक सम्पदाको अनुपम अनुभव लिन विश्वलाई आह्वान गर्नुपर्ने बताए।
‘हामीले विश्वलाई भन्न सक्नुपर्छ– बेस्सरी पैसा कमाएर मात्रै हुँदैन, वास्तविक जिन्दगी जिउनुपर्छ। त्यसकारण नेपाल भ्रमण गरौँ,’ उनले भने।
प्रकाशित: २३ असार २०८२ १९:०५ सोमबार