राजनीति

भण्डारीसमक्ष वाम एकताको माओवादी प्रस्ताव

बालेनले पनि भंगाल पुगेर अवगत गराए महानगरका समस्या

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा फर्केको घोषणा गरेपछि नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भेटेर नै वाम एकताको प्रस्ताव राखेका छन्। बिहीबार दिउँसो भंगालस्थित पूर्वराष्ट्रपति निवास पुगेका श्रेष्ठले यस्तो प्रस्ताव राखेका हुन्। ‘उहाँ (नारायणकाजी श्रेष्ठ) बिहीबार आउनुभएको थियो, करिब एक घण्टा समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भयो,’ पूर्वराष्ट्रपतिनिकट एक नेताले भने।

ती नेताका अनुसार माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले वाम एकता सम्भव भएकाले पहल गर्न आग्रह गरेका थिए। तर पूर्वराष्ट्रपति भण्डारीले अहिले नै यो विषयमा आफूले सोचिनसकेको बताएकी थिइन्। ‘मैले यो विषयमा सोचेको छैन, अहिलेको आवश्यकता ध्रुवीकरण होइन, त्यसकारण सबै मिलेर मुलुकलाई समृद्ध बनाउनुपर्नेमा जोड दिएकी छु,’ पूर्वराष्ट्रपतिको भनाइ उद्धृत गर्दै ती नेताले भने।

श्रेष्ठ भने अहिले विदेश भ्रमणमा छन्। यो विषयमा कुराकानी गर्न खोज्दा उनी विदेश भएको जानकारी प्राप्त भएको छ। माओवादी केन्द्र तथा अन्य वामपन्थी दलका नेताहरूले विद्या भण्डारीको नेतृत्वमा वाम एकता गर्न सकिने आशयका अभिव्यक्तिहरू दिने गरेका थिए। असार १४ गते विद्या भण्डारीले एमालेको सदस्यता नवीकरण गरेको सार्वजनिक घोषणा गरेसँगै एमालेको संस्थापन पक्षमा भुइँचालो गएको छ भने वामपन्थी दलहरूले कुनै प्रतिक्रिया जनाइसकेका छैनन्।

माओवादीमा पनि पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनः पुसदेखि नै सक्रिय भइसकेका छन्। दुई कार्यकाल उपराष्ट्रपति भएका पुन माओवादी केन्द्रका बैठकहरूमा सहभागी हुँदै आएका छन्। उनी पूर्ण रूपमा माओवादी केन्द्रको जिम्मेवारीका फर्केका छन्।

पूर्वराष्ट्रपति भण्डारी भने विधान महाधिवेशनदेखि सक्रिय हुने तयारीमा रहेकी छन्। माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पूर्वराष्ट्रपति निवासमै पुगेर वाम एकताको प्रस्ताव राख्नुले एमालेलाई दुई धारमा ल्याउन माओवादी केन्द्रले भित्रभित्रै खेल्न खोजेको हो कि भन्ने आशंका जन्माएकाले तत्कालै भण्डारीले कुनै प्रतिक्रिया नदिएको स्रोतको दाबी छ। ‘अहिले उहाँको सोच वामपन्थी एकताभन्दा पनि एमाले बलियो बनाउने रहेको छ,’ भण्डारीसँग निकट भएर काम गरिरहेका एमालेका एक पदाधिकारीले भने।

भण्डारीनिकट नेताहरूले नारायणकाजी श्रेष्ठसँगको भेटघाटलाई बाहिर ल्याउन चाहिरहेका छैनन्। भण्डारीका स्वकीय सचिव राजकुमार राईले श्रेष्ठले आएर भेटघाट गरेको बारेमा आफूलाई जानकारी नभएको बताए।

पूर्वराष्ट्रपति भण्डारी पार्टी राजनीतिमा फर्कने घोषणा गरेपछि राजनीतिक भेटघाटले तीव्रता पाएको छ। एमाले, माओवादी केन्द्र र अन्य दलका नेताहरूले समेत भण्डारीसँगको भेटघाटलाई तीव्रता दिएका छन्। पूर्वराष्ट्रपति भण्डारीले पनि भेटघाटलाई सहज बनाउँदै लगेकी छन्। राजनीतिमा सक्रिय भइसकेको अवस्थामा भेटघाटलाई फराकिलो बनाउँदै लैजाने भण्डारीनिकट नेताहरूले जनाएका छन्। राजनीतिक चासो र चिन्ता भएका व्यक्तिहरूले भेटघाटलाई तीव्रता दिइरहेका बेला काठमाडौंका महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले पनि भेटघाट गरेका छन्। बिहीबार दिउँसो नेकपा एमालेका एक नेतालाई साथ लिएर गएका बालेनले पूर्वराष्ट्रपति भण्डारीसँग करिब एक घण्टा बिताएका थिए।

पूर्वराष्ट्रपति भण्डारीसँग भेटघाटमा लागि काठमाडौंका एक नेताले समय मिलाएका थिए। उनै नेताले बालेनलाई लिएर पुगेका थिए।

स्रोतका अनुसार काठमाडौं क्षेत्र नम्बर ९ बाट निर्वाचित एमाले सांसद कृष्णगोपाल श्रेष्ठ बालेनलाई लिएर भंगाल पुगेका थिए। ‘सांसद कृष्णगोपाल श्रेष्ठले लिएर आउनुभएको थियो,’ पूर्वराष्ट्रपतिनिकट एक नेताले भने। बालेन पुग्नुअघि भंगालस्थित पूर्वराष्ट्रपति निवासमा कोसी प्रदेशका पूर्वमूख्यमन्त्री शेरधन राई पनि त्यही थिए। भण्डारी पारिवारिक भेटघाटमा रहेका बेला सांसद कृष्णगोपालले समय लिएर बालेनसँग भेटघाट गराएका थिए। पूर्वराष्ट्रपति भण्डारीका स्वकीय सचिव राजकुमार राईले भने भेटघाटबारे आफूलाई जानकारी नभएको बताए पनि मेयर साहको स्वकीय सचिवालयले भने त्यसबारे पुष्टि गरेको छ। भण्डारीका स्वकीय सचिव राईले भने सबै भेटघाटबारे आफूलाई जानकारी नहुने बताए। सांसद कृष्णगोपाल श्रेष्ठसँग भने सम्पर्क हुन सकेन। भेटघाटका क्रममा बालेनले काठमाडौं महानगरपालिकामा उत्पन्न भएको समस्याबारे जानकारी गराएका थिए। ‘महानगरभित्र उत्पन्न भएको समस्याबारे मेयर साहले जानकारी गराएका थिए,’ भण्डारीनिकट एक नेताले भने।  

पूर्वराष्ट्रपति भण्डारीले केही दिनअघि मात्रै सरकारले दिएको सेवासुविधा फिर्ता गरेकी थिइन्। काठमाडौं महानगरपालिकाका मेयर बालेनले भण्डारीले सरकारी सेवासुविधा फिर्ता गरेकोमा खुसी व्यक्त गर्दै बधाई दिएको स्रोतले जनाएको छ। यद्यपि उनीहरूबिच राजनीतिकलगायत काठमाडौं महानरपालिकामा बजेट समयमा आउन नसक्नुको कारण र समाधानको विषयमा पनि कुराकानी भएको स्रोतको दाबी छ। पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फर्कने घोषणा गरिसकेकी छन्। उनले असार १४ गते नै एमालेको सदस्यता नवीकरण गरेको जानकारी दिएकी थिइन्। एमालेको सदस्यता नवीकरण गरेको जानकारी दिएपछि एमालेभित्र अब दुई लाइन संघर्ष हुने आकलन गरिएको छ। संस्थापन पक्षले भण्डारीलाई राजनीतिमा आउन नदिन पार्टीभित्र महाधिवेशन केन्द्रित बहस नगर्न निर्देशन नै जारी गरिसकेको छ।

प्रकाशित: २३ असार २०८२ ०६:२० सोमबार

# Nagarik # Former President Bidya Devi Bhandari