राजनीति

देउवाले पार्टी एकताबद्ध बनाउँछु भन्दा शशांक खुसी, संविधान संशोधन अघि नबढेकोमा रुष्ट

नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाले संविधान संशोधन प्रक्रिया अघि बढ्न नसकेको भन्दै असन्तुष्टि जनाएका छन् । कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा आइतबारमा आफ्नो धारणा राख्दै कोइरालाले असन्तुष्टि व्यक्त गरेका हुन्।

कोइरालाले कांग्रेस र एमालेबिच सत्ता सहकार्यको मुख्य धेय नै संविधान संशोधन रहेको बताए । तर, दुई दलको सरकार निर्माण भएको एक वर्ष हुँदा संविधान संशोधनमा कुनै काम हुन नसकेको गुनासो गरे । संविधानप्रति देखिएका असन्तुष्टिलाई संशोधनमार्फत सम्बोधन गर्नुपर्नेमा कोइरालाले जोड दिए । 

पूर्व महामन्त्री कोइरालाले संविधानमा रहेको धर्मनिरपेक्षतालाई हटाएर धार्मिक स्वतन्त्रता बनाउनु पर्ने तर्क गरेका छन् । बहुसंख्यक नेपालीहरू हिन्दु रहेको जनाउँदै कोइरालाले विगत देखि नै धार्मिक स्वतन्त्रताको पक्षमा वकालत गर्दै आएका छन् । 

कोइरालाले संघीय संसद्को अहिलेको बनावट परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् । साथै पार्टी सभापति शेरबहादुर देउवाले कांग्रेसलाई एकताबद्ध बनाउने भन्दै दिएको अभिव्यक्तिको प्रशंसा गर्दै कोइरालाले कांग्रेस एक भए कसैले पनि हराउन नसक्ने दाबी गरे । त्यसका लागि पार्टीभित्रको सम्पूर्ण कर्ता आवश्यक रहेमा उनले जोड दिए । 

यस्तै कोइरालाले अहिलेको निर्वाचन प्रणाली ठिक नभएको जनाउँदै त्यसलाई सुधार गर्नुपर्ने तर्क गरेका छन्।

प्रकाशित: २२ असार २०८२ १४:३५ आइतबार

#Dr.Shashank Koirala #Nepali Congress #NagarikNews