राजनीति

देउवाले सुनाए गिरिजासँग झगडाका किस्सा

हाँसाहाँसी भने–एक पटक राजा र गिरिजा एउटै हुन भनेको थिएँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो र गिरिजा प्रसाद कोइरालाको झगडाको किस्सा सम्झिएका छन्। शनिवार जय नेपाल फाउन्डेसनले कोइरालाको जन्म जयन्तीका अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै देउवाले संक्षिप्त किस्सा सुनाउँदै हँसाएका छन्। 

‘स्वर्गीय गिरिजाप्रसाद र मेरो बिचमा झगडा भएको यहाँहरूलाई थाहा छ। उहाँले मलाई पार्टीबाट निकाल्दिनुभयो,’ हाँसाहाँसी देउवाले भने, ‘अर्को पार्टी खोले मैले फेरि।’ 

आफूले गिरिजा र तत्कालीन राजालाई जोडेर दिएको एक अभिव्यक्ति पनि देउवाले सम्झिए। ‘एकपल्ट मैले के भन्या थिए भने–गिरिजा र राजा एउटै हुन भनेको थिएँ। एउटाले पार्टीबाट निकाल्यो, अर्कोले प्रधानमन्त्रीबाट निकाल्यो भनेर भनेको थिएँ,’ देउवाले भने।

त्यसपछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफूलाई शाही आयोग गठन गरेर मलाई जेल हालेको पनि उनले सम्झिए। उनले अगाडि भने, ‘मैले शाही आयोग मान्दै मान्दिनँ भनेर बयान दिन इन्कार गरेँ।’ त्यही बेला अरू कसैले हालेको बन्दी प्रत्यक्षीकरण रिटमा आफू छुटेको पनि देउवाले सुनाए। ‘अरू कसैले सर्वोच्च अदालतमा मुद्दा हालेर मैले जितिहाले । म छुटिहाले,’ मुस्कानसहित देउवा सुनिए। 

‘छुटेपछि गिरिजाबाबु मलाई भेट्न आउनुभयो। अनि मिलौँ भन्नुभयो,’ देउवाले भने, ‘मैले भने–मैले मिलौँ भनेकै छु त, तपाईँले निकाल्नुभएको त हो नि भनेर उहाँलाई भने मैले।’ 

त्यसपछि फेरि पार्टी एकीकरण गरेर दुवै जना मिलेर गएको देउवाले सुनाए।  

प्रकाशित: २१ असार २०८२ १७:४९ शनिबार

#Sher Bahadur Deuba #girija prasad koirala #Nepali Congress