युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले मुलुकको परिचय अन्तर्राष्ट्रिय क्षेत्रमा बढाउन खेलकुद क्षेत्रको विकास गर्न आवश्यक रहेको बताएका छन्।
नेपाल तेक्वान्दो सङ्घद्वारा आज आयोजित कार्यक्रममा उनले राष्ट्रको गौरव तथा प्रतिष्ठा वृद्धि गर्न खेलकुद क्षेत्र महत्त्वपूर्ण विधा भएको उल्लेख गरे। विश्व परिवेशमा देशको प्रतिष्ठालाई स्थापित गर्ने सम्भावनायुक्त खेलकुद क्षेत्र भएकाले यसको विकासमा सरकारले विशेष ध्यान दिने उल्लेख गर्दै मन्त्री चौधरीले यसबाट देशको बहुआयामिक विकासमा सहयोग पुग्ने बताए।
राम्रो खेलाडी उत्पादन गर्न गाउँपालिकादेखि नै बालबालिकालाई यस क्षेत्रमा आकर्षित गर्नुपर्नेमा जोड दिँदै उनले उनीहरूलाई राम्रो अभ्यास गराउन सकेमा देशको नाम फैलाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
मन्त्री चौधरीले मानिसको दैनिक जीवनमा स्वस्थता तथा स्वच्छता कायम गर्नका लागि खेलको महत्व रहेको विचार व्यक्त गरे। उनले मन्त्रालयमा न्यून बजेट रहेकाले राष्ट्रियस्तरको प्रतियोगिता गर्न तथा खेलकुदका पूर्वाधार विकास गर्न नसकिएकामा चिन्ता व्यक्त गरे।
देशभरका करिब एक सय खेलाडीलाई तेक्वान्दो प्रशिक्षण दिइएको उक्त कार्यक्रममा मन्त्री चौधरीले प्रशिक्षक, स्वयंसेवक, अग्रज खेलाडीलाई सम्मान गरे।
प्रकाशित: २१ असार २०८२ ०६:२७ शनिबार