राजनीति

चौधरीमाथि आक्रोश: चन्दा दिएको छु नेता मान्नुपर्छ भन्ने दुस्साहस नहोस्

‘शेखर कोइरालालाई संकीर्ण भन्न भन्न मिल्दैन’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले अर्का केन्द्रीय सदस्य विनोद चौधरीलाई ‘चन्दा दिएको छु, मलाई नेता मान्नुपर्छ भन्ने दुस्साहस’ नगर्न भनेका छन्। कांग्रेसको केन्द्रीय समिति बैठक अन्तर्गत बिहीबार आफ्नो धारणा राख्दा डा. शेखर कोइरालाको बचाउ गर्दै उनले यस्तो बताएका हुन्। 

‘अर्का खाले मानिस हुन्छन् जो पार्टीलाई चन्दा दिएकोमा गर्व गर्छन् । राजनीतिक दललाई चन्दा दिनु राम्रो हो,’ केन्द्रीय सदस्य कोइरालाले भने, ‘चन्दा कति पारदर्शी तरिकाले दिइएको छ ? भन्ने पनि हेक्का राख्नुपर्छ । मैले चन्दा दिएको छु, त्यसैले मलाई नेता मान्नुपर्छ भन्ने दुस्साहस गर्न हुँदैन।’ 

‘मैले चन्दा दिएको छु, त्यसैले मैले जे गरे पनि हुन्छ’ नहुने उनले बताए। ‘मैले चन्दा दिएको छु त्यस कारण मैले ताकि ताकि छानी छानी कारबाहीको डन्डा चलाउँछु भन्न हुँदैन । प्रतिस्पर्धीलाई रोजारोजी कारबाहीको डन्डा चलाउँछु भन्न हुँदैन,’ केन्द्रीय सदस्य कोइरालाले भने। 

बिपी कोइरालाको ‘एक दिन सुकिला मुकिलाले पार्टी कब्जा गर्ने’ भनेको अभिव्यक्ति इंगित गर्दै उनले भने, ‘तर, सुकिलामुकिलाले पार्टी कब्जा गरेर इमानदारहरूले संघर्ष गर्नुपर्ने दिन नआओस् । यसमा हामी सचेत हुनै पर्छ ।’ 

त्यसपछि कोइरालाले अर्ब पति व्यवसायी समेत रहेको चौधरीको नामै लिएर अघि बढे। ‘विनोद चौधरीले आफूलाई अब्बल मानिस भन्नुभयो। वास्तवमा उहाँ अब्बल नै हो । नेपालको औद्योगिक क्षेत्र तथा अर्थतन्त्रमा उहाँको ठुलो योगदान छ,’ उनले भने, ‘उहाँजस्तो अब्बल मानिस विवादमा पर्नुभएकोमा मलाई दुःख लागेको छ ।  अब म जे भन्न गइरहेको छु, विनोद चौधरीको विरोध गरेको नठानियोस् ।’ 

चौधरीका बारेमा शेखर कोइरालाले एउटा प्रश्न उठाएको र जवाफमा चौधरीले आठ वटा प्रश्न उठाएको केन्द्रीय सदस्य कोइरालाले बताए। ‘शेखर कोइरालालाई संकीर्ण पनि भन्नुभयो । शेखर कोइराला, शेरबहादुर देउवा लगायत हाम्रो पार्टीका नेताहरू संकीर्ण हुनुहुन्थ्यो भने उहाँ अन्तरिक्षबाट टपक्क ओर्लिएर केन्द्रीय सदस्य बन्न पाउनुहुन्नथ्यो । कांग्रेसका कार्यकर्ता संकीर्ण थिए भने उहाँ त्यति राम्रो मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित नै बन्नुहुन्नथ्यो,’ उनले भने। 

शेखर कोइराला संकीर्ण व्यक्ति भए पार्टी सभापति पदमा कसरी ४० प्रतिशत मत ल्याउनुभयो ? भनेर उनले प्रश्न गरे। ‘उहाँलाई मत दिने सबै संकीर्ण हुन् ? याद राख्नुहोस्, शेखर कोइराला पार्टी सभापति पदका निकटतम प्रतिस्पर्धी हो,’ कोइरालाले अगाडि भने। 

शेखर कोइरालाले अहिले सजिलोसँग बैठक चल्न दिएको भन्दै उनले भने, ‘विगतमा निकटतम प्रतिस्पर्धीले सभापतिलाई कति दुःख दिन्थे भन्ने सम्झनुहोस् र अहिलेको अवस्था पनि हेर्नुहोस् । यति उदार र सहयोगी शेखर कोइरालालाई संकीर्ण भन्न मिल्छ ?’  

बैठकको सुरुकै दिनमा शेखर कोइरालाले चौधरीको केन्द्रीय सदस्य पदको वैधानिक धरातलमाथि प्रश्न उठाएपछि चौधरीले त्यसको प्रतिवाद गरेका थिए। त्यसयता कांग्रेस नेताकार्यकर्तामाझ यो विषयको विवाद उत्कर्षमा छ। शेखर पक्षका नेताहरू उनको बचाउ गर्दै चौधरीमाथि आक्रोश पोखिरहेका छन्। 

प्रकाशित: १९ असार २०८२ १९:०६ बिहीबार

#Binod Chaudhary #Dr.Shekhar Koirala