सत्तासीन दल नेकपा (एमाले) का नेता छविलाल विश्वकर्माले संविधान संशोधनको मुद्दा हठात् उठाइएको बताएका छन्। ‘कांग्रेस-एमालेबीच सहमति हुँदा यो विषय हठात् रूपमा उठाइयो। त्यतिबेला धेरै सोचिविचारी उठाइएन। त्यसबेलै उठाउन हुन्नथ्यो भन्नेमा छु मचाहिँ,’ विश्वकर्माले नागरिकसँग भने।
तर, मुद्दाको उठान भइसकेपछि अब यसलाई पर्याप्त गृहकार्य गरेर मात्रै थप अगाडि बढाउनुपर्ने उनले बताए। ‘अब उठाइसकिएपछि आवश्यक तयारी नगरीकन पुन: अगाडि बढाउनु हुन्न भन्ने हो। सुरुमा गृहकार्य गर्ने हो र उठाउने हो, मेरो आग्रह यही रहन्छ,’ उनले भने।
अहिलेसम्म यो विषयले औपचारिक रूपमा प्रवेश नपाउनु दुखद् भएको उनले बताएका छन्। ‘बाहिरबाट जसरी संशोधन कहाँ गयो भनेर खोजिँदैछ, यसलाई चाहिँ सकारात्मक रूपमा लिनुपर्छ। तर, अहिले पनि दलहरूका बीचमा, संसदीय समितिहरूमा विभिन्न चरण र सन्दर्भमा यसमाथि कुराहरू उठिरहेकै छन्। तर, औपचारिक प्रवेश पाएको छैन, यो दुखद् नै हो,’ विश्वकर्माले भने।
संविधान संशोधन जटिल विषय भएको उल्लेख गर्दै उनले आन्तरिक तयारी गरिरहेको बताए। ‘तर, यसलाई सहमतिमा मात्रै सीमित गरिनु हुँदैन। विषय जटिल हो। आम जनताले खोजेका छन्, सहमतिको मुख्य बुँदा पनि हो। त्यसैले यो अगाडि बढ्नुपर्छ र सबैले अपनत्व लिएर अगाडि जानुपर्छ,’ उनले भनेका छन्।
गत वर्षको असार १७ गते कांग्रेस-एमालेबीच ७ बुँदे समझदारी हुँदा संविधान संशोधनलाई मुख्य बुँदा बनाइएको थियो। तर, यसबारे अहिलेसम्म प्रारम्भिक छलफलसमेत सुरु भएको छैन। प्रधानमन्त्री केपी शर्मा ओलीले संशोधनको भाखा २०८७ पुर्याएपछि थप अलमल परेको छ।
प्रकाशित: १९ असार २०८२ १८:३२ बिहीबार