राजनीति

सभापति देउवाद्वारा यादवको निधनप्रति दुख व्यक्त

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा सदस्य एवं कांग्रेस बाराका पूर्वजिल्ला सचिव रामअयोध्याप्रसाद यादवको निधनप्रति दुख व्यक्त गरेका छन्। यादवको गए राति ७२ वर्षको उमेरमा वीरगञ्जस्थित हेल्थकेयर अस्पतालमा उपचारका क्रममा निधन भएको हो।  

सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत उनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरे। स्व. यादवले कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा निर्वाह गरेको सक्रिय योगदान पार्टीमा सधैं स्मरणीय रहने उनले उल्लेख गरे।  

बाराको सुवर्ण गाउँपालिका–२ निवासी यादव लामो समयदेखि मधुमेहबाट पीडित थिए। विसं २०७० को संविधानसभा निर्वाचनमा बारा क्षेत्र नं. १ बाट उनी निर्वाचित भएका थिए। यादवले कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए। उनको निधनबाट कांग्रेसले एक अग्रज र अनुभवी राजनीतिज्ञलाई गुमाएको जनाएको छ।

प्रकाशित: १८ असार २०८२ १२:०७ बुधबार

#NagarikNews #NepaliNews