राजनीति

रुपन्देही-३ उपनिर्वाचन : रास्वपाबाट सागर ढकालको चर्चा

रुपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ मा आउँदो कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ। उपनिर्वाचनको मिति घोषणा भएसँगै दलहरू त्यसको तयारीमा जुटेका छन्। सत्तासीन दल नेकपा (एमाले) ले खिमलाल भट्टराईलाई उम्मेदवार बनाउने घोषणा गरिसकेको छ। त्यस्तै पहिलो ठूलो दल नेपाली कांग्रेस र तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) लगायत छलफलमा छन्।

चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट भने सागर ढकालको चर्चा छ। ढकाल पछिल्लो निर्वाचनमा डडेलधुराबाट पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग स्वतन्त्र रूपमा उम्मेदवार बनेका व्यक्ति हुन्। तर, पराजित हुन पुगे। त्यसपछि केही समय विदेसिएका उनी केही महिनाअघि स्वदेश फर्किएका छन्।

स्वदेश फर्किएपछि उनको रास्वपासँग हिमचिम बढेको छ। गत जेठ ५ गते मात्रै उनी रास्वपा नेत्री तथा सांसद सुमना श्रेष्ठसँग सिंहदरबार छिरेका थिए। उनीहरूले त्यहीँबाटै फेसबूक लाइभ पनि गरेका थिए। ढकालले त्यही लाइभबाटै आउँदो निर्वाचनमा उम्मेदवार बन्ने बताएका थिए भने सुमनाले जिताइदिनका लागि आह्वान गरेकी थिइन्।

अहिले आएर आसन्न उपनिर्वाचनमा ढकाल रास्वपाबाटै रुपन्देही-३ बाट उम्मेदवार बन्ने चर्चा चलेको छ। त्यसो त ढकाल आफैँले त्यो छनक दिएका छन्। ‘रुपन्देही-३ का मेरो प्यारो जनता, यो हजुरको क्षेत्रको मात्र चुनाव होइन, देशको चुनाव हो र देशको पीडा, आँसु र आवाज बोल्न तयार भएर बस्नुहोला। नेपाली जनताले जित्ने मात्र होइन, सफा-चट् क्लीनस्वीप गर्ने हो, सफा-चट्, रुपन्देही-३,’ उनले भनेका छन्, ‘नेपालको इतिहास रच्न तयार हुनुहुन्छ ?’

यसबारे जिज्ञासा राख्दा रास्वपा प्रवक्ता मनीष झाले रुपन्देही-३ बाट पार्टीका तर्फबाट ढकाल उम्मेदवार बन्ने सम्भावना रहेको बताए। ‘चर्चा छ, चर्चा हुनु भनेको सम्भावना पनि छ भनिएको हो। चर्चा, सिफारिस, निष्कर्ष र निर्णय हुँदै अगाडि जाने हो तर, चर्चा हुनु, भइरहनु राम्रो कुरा हो,’ प्रवक्ता झाले भने।

पार्टी मूलधारको राजनीतिमा आएपछि 'गणतन्त्रको पहिलो राष्ट्रपति प्रचण्ड' भनेर माओवादी नेता-कार्यकर्ताहरूले चलाएको भित्ते-लेखन अभियान र त्यसबारे सोधिएको प्रश्नमा तत्कालीन सभामुख सुवासचन्द्र नेम्वाङले 'त्यो राम्रो हो, उहाँहरूले यो व्यवस्था त स्वीकारिसक्नुभयो नि' भनेर दिएको जवाफको प्रसङ्ग जोड्दै प्रवक्ता झाले पार्टीबाट ढकालको चर्चा हुनु पनि राम्रो भएको बताए।

'चर्चा हुनु भनेको राम्रो हो। रास्वपा नेता, समर्थकहरू तथा मतदाताहरूले सागर ढकाल रास्वपाको उम्मेदवार हो भनेर चलेको चर्चामा उत्साहित हुनु उहाँहरूले पनि सागर ढकाललाई उम्मेदवारका रूपमा स्वीकारिसक्नुभयो भन्ने कुरा हो,' प्रवक्ता झाले भने, 'त्यसो भन्नुको मतलब मनीष झाको उम्मेदवार सागर ढकाल होइन नि। तर, चर्चा हुनु भनेको सधैँ नै सम्भावना छ भन्ने हो। निर्णय भइसकेको छैन। चर्चा, सिफारिस, छलफल, निष्कर्ष र निर्णय गर्दाखेरि अब उहाँ उम्मेदवार बन्नका लागि अझै चार चरण बाँकी छन्।'

प्रकाशित: १७ असार २०८२ १८:१३ मंगलबार

#Rupandehi #NagarikNews #rabilamichhane #SagarDhakal