राजनीति

रविको पक्षमा हस्ताक्षर अभियान: काठमाडौंमा १३ स्थानमा ऐक्यबद्धता बुथ, १४ गतेबाट ७७ वटै जिल्लामा विस्तार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले थुनामा रहेका पार्टी सभापति रवि लामिछानेको पक्षमा थालेको हस्ताक्षर अभियान जारी छ। शुक्रबार (आज) रास्वपाले काठमाडौं उपत्यकाका १३ स्थानमा ऐक्यबद्धता बुथ स्थापना गरेको छ। अहिले हस्ताक्षर अभियान जारी रहेको छ।

नयाँ बसपार्क, बल्खु, कोटेश्वर, पाटन दरबार स्क्वायर, चाबहिल, जावलाखेल, लगनखेल, बसन्तपुर दरबार स्क्वायर, भक्त दरबार स्क्वायरलगायतका १३ वटा स्थानमा रास्वपाले ऐक्यबद्धता बुथको स्थापना गरेको छ।

यस्तै असार १४ गते ७७ वटै जिल्ला सदरमुकाम केन्द्रित हस्ताक्षर अभियान सञ्चालन हुनेछ। त्यसपछि त्यो अभियान वडा तहमा विस्तार हुने रास्वपाले जनाएको छ।

रास्वपाले पार्टी सभापति लामिछानेविरुद्ध ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चल्नु र थुनामा रहनुलाई 'राजनीतिक प्रतिशोध'को रूपमा अर्थ्याउँदै आएको छ। यो हस्ताक्षर अभियान पनि उक्त प्रतिशोधविरुद्ध नै भएको रास्वपाका नेताहरूले बताउँदै आएका छन्।

यसअघि गत असार ७ गते पार्टी स्थापनाको तेस्रो स्थापना दिवसका अवसरमा २० पृष्ठको दस्ताबेज सार्वजनिक गर्दै लामिछानेले यो अभियानको घोषणा गरेका थिए। अहिले जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको हिरासतमा रहेका लामिछानेले दस्ताबेजमार्फत आफूविरुद्ध अत्याचार गरिएको बताएका छन्।

प्रकाशित: १३ असार २०८२ १६:२९ शुक्रबार

RabiLamichhane #NagarikNews