राजनीति

मधेसमा जनमतको आरोप- ‘हाम्रो नेतृत्व, एमालेको नियन्त्रण’

मधेस प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रम अनुसार बजेट नल्याएको भन्दै नेतृत्वप्रति जनमत पार्टीले पनि असन्तुष्टि जनाएको छ। बिहीबार संसदीय दलको बैठक बसेर जनमतले आफ्नै पार्टीको नेतृत्व प्रति असन्तुष्टि जनाएको हो।

जनमत नेतृत्वका मुख्यमन्त्री सतिश कुमार सिंहलाई सत्ता साझेदार दल नेकपा एमालेले ‘गोटी’ को रुपमा प्रयोग गरिएको जनमतका संसदीय दलका नेता महेश प्रसाद यादवले आरोप लगाए।

बैठकले मुख्य तीन वटा निर्णय गरेको संसदीय दलका नेता महेशप्रसाद यादवको भनाइ छ। उनका अनुसार आफ्ना पार्टीका नेता तथा मन्त्रीहरूले सिफारिस गरेका योजना रेडबुकमा समावेश नगरेको सचिवालयमा जानकारी दिने, प्रदेशसभा बैठक अनिश्चितकालका लागि कुन कारणले स्थगित भएको हो भन्नेबारे बुझ्न मधेस प्रदेशसभामा पत्र पठाउने र संशोधनको लागि माग गर्ने निर्णय गरिएको हो।

सार्वजनिक भएको कार्यक्रम पुस्तिका (रेडबुक) मा व्यापक फेरबदल गरेर नेकपा एमालेले जनमत नेतृत्वको सरकारलाई गोटीको रुपमा प्रयोग गरिरहेको संसदीय दलका नेता यादवले आरोप लगाएका हुन्।

‘प्रदेशमा जनमत नेतृत्वमा नामको लागि मात्रै सरकार छ’, दलका नेता यादवले भने ‘हामीलाई एमालेले गोटीको रुपमा प्रयोग गरिरहेको छ। यिनै कुराहरू पार्टी सचिवालयमा जानकारी दिने र प्रदेश सरकार नेतृत्व बारे सचिवालयले नै निर्णय गरिनेछ।’

मधेस प्रदेश सरकारको बजेटमाथिको छलफल स्थगित भएको छ। बिहीबार १ बजे प्रदेशसभाले बैठक आह्वान गरेको थियो। तर, दिउँसो १२ बजे सूचना जरी गरेर प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित छ।

प्रकाशित: १२ असार २०८२ १९:४४ बिहीबार