राजनीति

राजावादी संविधान संशोधन गर्न पाइने भन्ने विषयभन्दा बाहिर छैनन् : मीनेन्द्र

नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले राजावादीहरू राजावादी संविधान संशोधन गर्न पाइने भन्ने विषयभन्दा बाहिर नरहेको बताएका छन्। बुधबार (आज) नागरिक फ्रन्टलाइनमा नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलसँग कुराकानी गर्दै रिजालले यस्तो बताउका हुन्। 

'संविधान संशोधन गर्न पाइने भन्ने विषयभन्दा उहाँहरू बाहिर हुनुहन्न। त्यसैले उहाँहरूले एउटा विचारको बहुमत निर्माण गर्ने काम गर्न पाउनुहुन्छ, त्यो कुरालाई रोक्न पाइँदैन। यो संविधान विरोधी गतिविधि गर्न दिइँदैन, त्यो ठीकै होला तर, सहन्नँ भन्ने न्यारेटिब मलाई मन पर्दैन,' उनले भने।

बीपी कोइरालाले ८ वटा फाँसीको मुद्दा बोके पञ्चायतकालीन अदालतमा भनेको कुरा सम्झिँदै रिजालले राजावादी गतिविधिलाई संविधानले दिँदैन भन्नु नमिल्ने उनले बताए। 'बीपी कोइरालाले अदालतमा दिएको बयानमा भन्नुभएको छ- मेरो जनक्रान्तिको आह्वानको प्रेरणाले कसैले हतियार सङ्ग्रह गर्‍या छ, गर्न थाल्या छ भने त्यसको नैतिक जिम्मेवारी म लिन्छु भनेर ८ वटा फाँसीको मुद्दा बोकेर पञ्चायतको बेलाको अदालतसँग आफ्नो कुरा राखेर बोल्नुपर्छ भन्ने मान्यता राख्ने बीपी कोइरालाको पार्टीको मान्छेले, जनमत संग्रहको निर्वाचनमा पराजित भएपछि अब मेरो सबै प्रयत्न संवैधानिक र शान्तिपूर्ण बाटोबाट पूर्ण स्थापना गर्नु हुनेछ भन्ने भनेर वक्तव्य दिने बीपी कोइरालाको पार्टीको मान्छेले संविधान संशोधन गर्न पाउने विषयमा कसैले संविधान यहाँसम्म संशोधन गर्छु भन्ने विचारलाई अगाडि लिएर जान्छ भने त्यसलाई बोल्न पाइँदैन, मुख थुन्छु, बन्द गर्छु, यो संविधानले दिँदैन भन्ने कुरामा चाहिँ म सहमत हुँदिनँ,' उनले भने।

प्रकाशित: ११ असार २०८२ २०:३६ बुधबार

#Minendra Rijal #NagarikNews