राजनीति

शेखर र गगनसँग मिनेन्द्रको गुनासो, देउवाप्रति सहानुभूति

नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले डा. शेखर कोइराला र महामन्त्री गगन थापासँग चर्को गुनासो पोखेका छन्। बुधबार नागरिक फ्रन्टलाइन संवादमा नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलसँग कुराकानी गर्दै रिजालले कांग्रेस सभापति शेरबहादुर देउवाप्रति भने सहानुभूति प्रकट गरेका छन्।  

‘मैले भन्नुपर्छ, प्रतिनिधिसभामा म रोकिनु त्यो अन्यायपूर्ण निर्णय थियो। त्यसकारण एकपल्ट संसदमा जानुपर्ने कुरा मेरो अधिकार सुरक्षित छ भन्ने मलाई लाग्छ,’ रिजालले भने, ‘मेरो गुनासो म सँगै जुन समूहबाट चुनाव लडेँ, ती नेतादेखि लिएर म समूहमा लडेको महामन्त्री जीसँग नामै भन्दा शेखर(शेखर कोइराला) जी नेतृत्वमा चुनाव लडेँ, गगन थापा सँगसँगै महामन्त्री लडेँ, सभापति कोही जित्नुहोला, तर उहाँसँग त कहीँ न कहीँ गुनासो छ नि त।’  

त्यसको कारण १४ औँ महाधिवेशनमा आफू महामन्त्रीबाट पराजित भएपछि शेखर र गगनबाट आफ्ना लागि कुनै भूमिका निर्वाह नहुनु रहेको उनले खुलाए। उनले भने, ‘किनभने उहाँहरुले महाधिवेशन हारेपछि केन्द्रीय सदस्यसम्म केही गर्नुभएन। डेढदुई वर्षपछि सभापति(शेरबहादुर देउवा)सँगै कुरा गरेर केन्द्रीय सदस्य भएको हो। म उहाँहरुको मेहनतबाट बनिनँ। अहिले पनि संसदमा लैजाने कोसिस उहाँहरुले गर्नुभएन।’  

पार्टीमा आफूलाई भूमिका दिलाउन पनि शेखर र गगनबाट कुनै भूमिका निर्वाह नभएको उनले बताए। ‘त्यसका लागि आफ्नो भूमिका जोखिममा राख्नुपर्दैन थियो नि उहाँहरुले। कुनै कुनै बेला पथ्र्यो होला। अहिले त उहाँहरु पार्टीमा घच्कीका साथ भूमिकामा हुनुहुन्छ नि। मिनेन्द्र रिजाल हामीसँगै रहेको साथी छेउ परेको छ, त्यसका लागि बोल्नुपर्छ भन्ने चेतना उहाँहरुसँग छैन भन्ने मेरा मनमा लागेको छैन भन्दा झुटो हुन्छ,’ रिजालले भने।  

तर सभापति देउवाप्रति सहानुभूति देखाउँदै उनले भने, ‘फेरि सभापति लड्न नपाउने त्यो वयको नेतालाई दोष दिनुभन्दा सँगै समूह बनाएर चुनाव लडेकैप्रति गुनासो राख्नु उचित हुन्छ।’

प्रकाशित: ११ असार २०८२ १९:५८ बुधबार

#Dr.Minedra Rijal #Nepali Congress