नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले आफूलाई अन्यायपूर्ण रुपमा प्रतिनिधिसभाको टिकट पाउनबाट वञ्चित पारिएको गुनासो गरेका छन्। बुधवार नागरिक फ्रन्टलाइन संवाद कार्यक्रममा अन्तर्वार्ता दिँदै रिजालले यस्तो गुनासो गरेका हुन्।
‘म साढे तीन वर्षअगाडि महामन्त्रीको निर्वाचन हारेँ। त्यसपछि मन्त्रीबाट राजीनामा गरेँ,’ रिजालले भने, ‘त्यसपछाडि मलाई अन्यायपूर्ण रुपमा प्रतिनिधिसभाको निर्वाचनमा टिकटबाट वञ्चित गरियो। त्यसपछि संसदमा जाने बाटो बन्द भएको छ।’
तर यी विषयको सार्वजनिक गुनासो भने नगरिरहेको रिजालले बताए। उनले भने, ‘यी सबै चिजलाई मैले अहिले पनि सम्झिरहने र कराइरहने गर्दा अरुलाई त दुःख दिन्न होला। तर मलाई दुःख दिन्छ। त्यसले म आफैलाई दुःख दिने काम गरिरहेको छैन।’ अहिले आफूलाई समय दिइरहेको र पढ्ने कुरामा ध्यान दिइरहेको उनले बताए।
२०७४ को निर्वाचनमा रिजाल मोरङ–२ बाट प्रतितिनिधिसभामा कांग्रेसबाट निर्वाचित भएका थिए। पछिल्लो पटक ०७९ मा सोही क्षेत्रबाट उनी फेरि लड्ने चाहनामा थिए। तर, कांग्रेसले सुजाता कोइरालालाई टिकट दिएको थियो। सुजाता एमालेका ऋषिकेश पोखरेलसँग पराजित भएकी थिइन।
प्रकाशित: ११ असार २०८२ १९:२२ बुधबार