नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आजको केन्द्रीय सचिवालयको बैठकले वर्तमान सरकारको एक वर्षको अवधिलाई सन्तोषजनक, सफल र प्रभावकारी भएको मूल्याङ्कन गरेको छ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज (बुधबार) ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा भएको बैठकमा मुलुकमा स्थिरता र सुशासनको लक्ष्यका साथ ठूला दलको सहभागितामा गठित सरकारले स्थिरता कायम गर्दै आफ्नो गन्तव्यमा प्रभावकारिता वृद्धि गर्दै लगेको निष्कर्ष निकालेको हो।
एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सरकारले सुशासन र सेवा प्रवाहका क्षत्रमा ध्यान दिनुपर्नेमा जोड दिइएको बताउँदै दैलेखमा मिथेन ग्यासको उत्खननको प्रारम्भिक प्रतिवेदन आउनुलगायत काम थप उपलब्धिका विषय भएको निचोड निकालेको जानकारी दिए।
साथै, बैठकले गणतन्त्र विरोधी गतिविधि अन्त्य भएको निष्कर्ष समेत निकालेको छ।
‘प्रतिगमनका केही प्रयत्नहरू भए, गणतन्त्र विरोधी गतिविधि भए। तर, जनताको सजगता, राजनीतिक दलहरूको सक्रियता र सरकारको प्रभावकारिताले त्यो स्थिति अन्त्य भएको छ। प्रतिगामी प्रयासहरू निस्तेज भएका छन्। समग्रमा, देशले सही दिशा लिएको र पार्टीको नेतृत्व निष्कर्ष निकालेका छौँ,’ उपमहासचिव प्रदीप ज्ञवालीले भने।
प्रकाशित: ११ असार २०८२ १८:५२ बुधबार