प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि हुने व्यक्तिगत गाली र अपमान सहन तयार रहेको तर सहिदको बलिदान, जनताको संघर्ष र वर्तमान राजनीतिक व्यवस्थामाथिको अपमान कुनै पनि हालतमा नसहने बताएका छन्।
मंगलबार प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले सांसदहरूबाट हुने आलोचना व्यक्तिगत तहमा सीमित हुनुपर्ने तर प्रणालीलाई नै कमजोर बनाउने गरी प्रस्तुत हुन नहुनेमा जोड दिए।
‘म बरु ममाथि गरिएको गाली र अपमान सहन्छु तर सहिद, जनताको बलिदान र विद्यमान व्यवस्थाप्रतिको अपमान सहन्न,’ प्रधानमन्त्री ओलीले भने, ‘संसद् जनताको बलिदानको धज्जी उडाउने र प्रणालीको अपमान गर्ने थलो हुन सक्दैन।’
उनले संसदलाई जनताको सपना साकार पार्ने पवित्र थलोको रूपमा व्याख्या गर्दै लोकतन्त्र र राष्ट्रियतालाई कमजोर बनाउने खालका हल्का टिप्पणी नगर्न सांसदहरूलाई आग्रह गरे।
विद्यमान व्यवस्था र संविधानको रक्षा गर्दै यसलाई अझ प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।
‘यस प्रणाली र संविधानको रक्षा गरौँ। यसको कार्यान्वयन गर्दै मुलुकलाई ‘समृद्ध नेपाल, सुखी नेपाली’ को गन्तव्यमा पुर्याउन सरकार अघि बढेको छ, यसमा सबै ढुक्क भए हुन्छ,’ प्रधानमन्त्रीले भने।
बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले सीमित स्रोतसाधनका कारण सबैलाई सन्तुष्ट बनाउन नसकिए पनि सरकारले बजेटलाई सकेसम्म सन्तुलित बनाएको दाबी गरे।
‘हामीलाई छिटो र धेरै ठाउँमा विकास चाहिएको छ तर बजेट कम छ। माग र आपूर्तिको असन्तुलन मिलाउन आगामी दिनमा ध्यान दिइनेछ,’ उनले भने।
प्रधानमन्त्री ओलीले जनअपेक्षा अनुसार देशलाई समुन्नतिको मार्गमा अघि बढाउन सरकार प्रयासरत रहेको स्पष्ट पार्दै सरकारलाई कसैका विरुद्ध ‘खेल खेल्ने’ फुर्सद नभएको बताए।
प्रकाशित: १० असार २०८२ १७:१३ मंगलबार