गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण र प्रतिकार्यका लागि काठमाडौं, पोखरा र सुर्खेतमा नेपाली सेनाको हेलिकप्टर तयारी अवस्थामा राखिएको बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित विपद् व्यवस्थापनमा पत्रकारको भूमिका विषयक प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै गृहमन्त्री लेखकले मुलुकका तीन स्थानका साथै अन्य ठाउँमा पनि विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा राख्ने तयारी भइरहेको बताएका हुन्।
‘आवश्यकता अनुसार हेलिकप्टर एसोसिएसनसँग पनि हेलिकप्टर तयारी अवस्थामा राख्ने विषयमा समन्वय भएको छ,’ गृहमन्त्री लेखकले भने, ‘सीमित स्रोत साधनका बीच विपद् प्रतिकार्य र न्यूनीकरणका लागि सरकार लागिपरेको छ।’ उनले प्रदेश सरकार, स्थानीय तह, विभिन्न सरोकारवाला निकाय, गैरसरकारी संस्था, यातायात व्यवसायी लगायत सबैले हातेमालो गरेर विपद् जोखिम न्यूनीकरण र प्रतिकार्यमा जुट्नुपर्ने जोड दिए।
विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा पत्रकारको महत्वपूर्ण भूमिका हुने उनले बताए। ‘हामी धेरै विपद्को जोखिम भएको भूगोलमा छौं,’ लेखकले भने, ‘जुनसुकै बेला जे पनि हुन सक्छ। बाढी, पहिरो, डुबानबारे पूर्वानुमान गर्न सकिन्छ तर भूकम्पबारे सकिंदैन। त्यसैले सधैं तयारी अवस्थामा बस्न जरूरी छ।’
उनले सातै प्रदेशमा रहेको आपतकालीन गोदाम प्रदेश सरकारलाई हस्तान्तरण गरिएको बताए। संघीय मर्मअनुसार नभएको भन्दै सबै गोदाम (काठमाडौं बाहेक केन्द्रीय गोदाम) प्रदेश सरकारलाई हस्तान्तरण गरिएको उनले बताए।
अहिले मनसुनको प्रारम्भमा रहेको बताउँदै उनले सरकारले विपद् जोखिम न्यूनीकरण र प्रतिकार्यका लागि आवश्यक तयारी गरिरहेको बताए। ‘जिल्लामा पनि विपद्का लागि आवश्यक रकम पठाइएको छ,’ उनले भने, ‘राहत सामग्री तयार गर्न जिल्लास्थित विपद् समितिलाई निर्देशन दिइएको छ र सूचना जारी गर्ने पद्धतिकाे विकास भएको छ।’ प्रतिकार्य र जोखिम न्यूनीकरणका लागि निजी क्षेत्रसँग पनि समन्वय र सहकार्य गर्ने काम भएको लेखकको भनाइ छ।
‘नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विपद् प्रतिकार्य र जोखिम न्यूनीकरणको तयारी बुझ्ने काम भएको छ,’ उनले भने, ‘देशभरका दुवै प्रहरी संगठनका प्रमुखलाई तयार रहन निर्देशन दिइएको छ।’ नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागले पनि आ-आफ्नो ठाउँबाट विपद् जोखिम न्यूनीकरण र प्रतिकार्यका लागि काम गरिरहेको मन्त्री लेखकको भनाइ छ।
प्रकाशित: १० असार २०८२ १२:०९ मंगलबार