राजनीति

अरुणा लामाको गीत सम्झँदै थापाले भने- ‘यसपाली त मनै फाट्यो केले सिउने केले टाल्ने ?’

नेकपा एमालेका सांसद सूर्य बहादुर थापा क्षेत्रीले सरकारले ल्याएको बजेटमाथि प्रश्न उठाएका छन्।

विशेषगरी शहरी विकास मन्त्रालयको बजेट विनियोजनमाथि टिप्पणी गर्दै उनले बजेटले वित्तीय अनुशासन तोडेको र ऐतिहासिक व्यक्तित्वहरूको अपमान गरेको आरोप लगाएका छन्।

आइतबार संसद्‌मा जारी मन्त्रालयको विनियोजित बजेटमाथि बोल्दै सांसद थापाले भने, ‘अरुले गरेको भए मैले धेरै कमेन्ट गर्ने थिइनँ। तर उपप्रधानमन्त्री, त्यो दलको तर्फबाट नेतृत्व गर्ने, अनि शहरी विकास मन्त्रीको मन्त्रालयमै यी चिजको सिलिङ पालना नगर्ने हो भने कसले पालना गर्ने हो ?’

सांसद थापाले बजेट विनियोजनमा ऐतिहासिक नेताहरूको योगदान र सिद्धान्तलाई बिर्सिएकोमा दुःख व्यक्त गरे। उनले लौहपुरुष गणेशमान सिंहको त्याग र बीपी कोइरालाको राजनीतिक अडानको स्मरण गराए।

‘मैले दुई जना व्यक्तित्वहरुको बारेमा, यद्यपि ६४ वर्षपछि म निर्वाचित भएर यो संसदमा आएको छु, उहाँहरुभन्दा। २०१५ सालमा उहाँहरु निर्वाचित हुनुभयो, प्रधानमन्त्री र यातायात मन्त्री सायद हुनुभयो। बीपी कोइराला र गणेशमान सिंहको संक्षिप्त मूल्यांकन नगरीकन आजको बजेटका सन्दर्भमा मैले मन्त्रालयगत विनियोजनका सन्दर्भमा न्याय गर्न सक्दिनँ भन्ने लाग्छ,’ थापाले भने।

उनले २०१७ सालको ‘कु’ हुनुमा गणेशमान सिंहले राणाहरूसँग सम्झौता नगर्ने अडान लिएको र बीपी कोइरालाले कम्युनिस्टसँग सहकार्य गर्न नमान्दा पञ्चायत लम्बिएको प्रसङ्ग उल्लेख गरे।

तर २०४६ सालमा गणेशमानले नै वाममोर्चा बनाएर संयुक्त जनआन्दोलनको नेतृत्व गरेको स्मरण गर्दै थापाले भने, ‘त्यही जनआन्दोलनको बलमा पञ्चायत फालियो।’

उनले गणेशमान सिंहको सम्मानका लागि छुट्याइएको ७५ करोड रुपैयाँलाई टुक्रा-टुक्रा पारेर विभिन्न जिल्लामा छरिएकोमा आपत्ति जनाए। ‘गणेशमान सिंहको सम्मानलाई केही-केही जिल्लामा केही-केही छरिएको रकममा खोज्न खोजिएको पाएँ मैले। प्रकाशमान सिंह उनको छोरा हुनुहुन्छ भनेर साथीहरूले सुनाउनुभयो... तर झन्डै ७५ करोड रकममा गणेशमान सिंहको सम्मानलाई साट्ने ढंगको जुन विनियोजन भएको छ, यो गलत भएको छ,’ उनले भने।

उनले आफूले प्युठानको स्वर्गद्वारीमा धर्मशाला बनाउन बजेट माग गर्दा मन्त्रीले भारतको बनारसमा बजेट छुट्याएको भन्दै व्यंग्य गरे। ‘मैले स्वर्गद्वारीमा ३ करोड मागेको थिएँ, मन्त्रीज्यूले बनारसमा गर्नुभएछ। बनारसमा नेपाली धर्मशालालाई १० लाख गर्नुभयो रे त्यो पनि,’ उनले भने।

थापाले शहरी विकास मन्त्रालयमा मात्रै ६,७५५ वटा योजना रहेको र १ हजार रुपैयाँसम्मका योजना पनि रहेको भन्दै सरकारको कार्यशैलीको आलोचना गरे।

‘राष्ट्रिय योजना आयोगले ३ करोडका योजनाको सिलिङ दिएको थियो,’ उनले भने, ‘तर यो कुनै हालतमा मिलेको छैन। यो सांसदहरूलाई देखाउनका लागि ३ करोडको सिमा तोक्ने, आफूले मनपरी गर्ने ? यो कुरा कुनै हालतमा मिलेको छैन।’

उनले विगतमा शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकारले सुरु गरेको ‘एक पालिका, एक खेल मैदान’ कार्यक्रम अहिले अलपत्र परेको र राजनीतिक प्रतिशोधका कारण बजेट नकाट्न आग्रह गरे।

उनले अन्त्यमा गायिका अरुणा लामाको गीत सम्झँदै भने, ‘पोहर साल खुसी फाट्दा जतन गरी मनले टालेँ, त्यही साल माया फाट्यो त्यसलाई पनि मनले टालेँ। यसपाली त मनै फाट्यो केले सिउने केले टाल्ने हो ? यो को-को जिम्मेवार हुनुपर्ने हो ?’ 

उनले बजेट विनियोजनमा नियत सच्चाउन र बाटो बदल्न सरकारलाई आग्रह गरे।

प्रकाशित: ८ असार २०८२ १५:५५ आइतबार