पूर्वअर्थमन्त्रीसमेत रहेका प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले विकासको मोडलबारे गम्भीर समीक्षा हुनुपर्ने बताएका छन्। आइतबार (आज) संसद्मा जारी मन्त्रालयगत छलफलका क्रममा कार्कीले विकास मोडलबारे समीक्षाको प्रस्ताव गरेका हुन्।
'जुन किसिमका विकास मोडल अपनाएका छौँ। यसमा हामीले पुनर्विचार गर्नुपर्छ। हामी अनुभूत गर्ने खालको विकास चाहन्छौँ। तर, त्यस किसिमको विकासको रफ्तार पुर्याउन सकेका छैनौँ। विकास मोडलको बारेमा छलफल गरौँ। छिमेकी देशहरूले कसरी विकास गरिरहेका छन्।अध्ययन गरौँ,' उनले भने।
उनले यसकै कारणले जनताले अपेक्षा गरेअनुसारको गतिमा विकास हुन नसकेको बताए। तर, विकास नै भएन भन्ने भने नभएको कार्कीको भनाइ छ। 'आज गाउँ-गाउँमा राम्रा पक्की सडकहरू बनेका छन्, राम्रा खानेपानी, स्कूल बनेका छन्। इन्टरनेटको पहुँच पुगेको छ। तथ्याङ्कको कुरा मात्रै गर्दिनँ, जसले यो भाष्य निर्माण गर्न खोजेका छन्, उनीहरूलाई म मुलुकको भ्रमणका लागि म आग्रह गर्दछु। यसको मतलब यो होइन कि जनताले अपेक्षा गरेअनुसारको गतिमा विकास भएको छ, भएको छैन, कम छ। जनताको गुनासो छ, त्यसलाई कसरी भोलिको दिनमा गुनासो नआउने परिपाटीको स्थापना गर्न सक्छौँ, त्यस वियषमा सदनमा छलफल हुनुपर्छ। आज विकास गाउँ-गाउँमा पुगेको छ। तर,जनसङ्ख्या गाउँमा छैन। विकास संरचनका लागि हामीले अर्बौँ गाउँमा खर्च गरेका छौँ। त्यसको प्रतिफल समाज, जनताले अनुभूत गर्न सकेको छैनन्। यसको जड के छ भन्नेबारे गम्भीरताका साथ सोच्नुपर्ने जरुरी छ,' उनले भने।
उनले मुलुकमा केही नभएको भाष्य बनाउन खोजिएको पनि बताए। त्यो गलत भएको उल्लेख गर्दै उनले भने, 'हामीले एउटा भाष्य निर्माण गर्न खोजेका छौँ, त्यो भाष्य के हो भने म हुँदाखेरि सबै कुरा ठीक थियो, म नहुँदा सबै कुरा बेठिक छ। यस किसिमको भाष्य बनाएर संसद्मा प्रवाह गरेर वा महत्त्वपूर्ण फोरममा प्रवाह गरेर मात्रै मुलुकको विकास हुँदैन। मुलुकमा केही पनि भएन भन्ने भाष्य प्रवाह गर्न जुन खोजिएको छ, यो गलत छ।'
प्रकाशित: ८ असार २०८२ १५:४३ आइतबार