राजनीति

नेविसंघले विश्वविद्यालयमा तोडफोड नगरोस्, शिक्षकलाई कालोमोसो नदलोस्: गगन

फाइल।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) लाई विश्वविद्यालयमा तालाबन्दी, तोडफोड र शिक्षकलाई कालोमोसो दल्ने जस्ता हिंसात्मक र अराजक गतिविधि तत्काल बन्द गर्न आग्रह गरेका छन्।

उनले यस्ता पुराना शैलीका आन्दोलनले नयाँ पुस्तालाई विकर्षित गरेको भन्दै अब रचनात्मक र शान्तिपूर्ण ‘सत्याग्रह’ को बाटो रोज्न सुझाव दिए।

नेविसंघ दोलखा–काठमाडौं सम्पर्क समितिले आइतबार आयोजना गरेको ‘जेन-जी पुस्ता र लोकतान्त्रिक विचार’ विषयक कार्यक्रममा बोल्दै थापाले नेविसंघले नयाँ पुस्ताको मन जित्ने गरी आफूलाई रुपान्तरण गर्नुपर्नेमा जोड दिए।

‘नेविसंघले अब एउटा संकल्प गरोस्,’ महामन्त्री थापाले भने, ‘हामी कहिल्यै पनि विश्वविद्यालयमा गएर ताला लगाउँदैनौं, कुनै पनि ठाउँमा गएर तोडफोड गर्दैनौं र शिक्षकहरूलाई कालोमोसो दल्ने जस्ता नचाहिने काम गर्दैनौं।’

उनले विद्यार्थीका जायज मागहरू पूरा गराउन संघर्ष आवश्यक भए पनि त्यसको स्वरूप रचनात्मक हुनुपर्ने बताए। ‘बरु सत्याग्रह गरौं। आफ्नो शरीरलाई दुःख दिऔं, तर हिंसाको बाटो नअपनाऔं,’ उनले भने।

यस्तो प्रतिबद्धताले मात्र नयाँ पुस्ताले नेविसंघलाई ‘यो त मेरो जस्तै संगठन रहेछ’ भनेर अपनत्व लिने उनको भनाइ थियो।

महामन्त्री थापाले नयाँ पुस्ताले राजनीतिक दलहरूलाई ‘कुहिएको र काम नलाग्ने’ संस्थाको रुपमा बुझिरहेको उल्लेख गर्दै विद्यार्थी संगठनले आफ्नो छवि सुधार्न ढिलाइ गर्न नहुने बताए।

‘यो पुस्ताले प्रमाणिकता खोज्छ, त्याग र बलिदानको पुरानो कथाले मात्र उनीहरूलाई आकर्षित गर्न सकिँदैन,’ उनले थपे।

प्रकाशित: ८ असार २०८२ १५:२४ आइतबार