सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति टिप्पणी गर्दै नैतिकताको पाठ नसिकाउन चेतावनी दिएका छन्।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद् अवरुद्ध गरिरहेको रास्वपा प्रति लक्षित गर्दै उनले संसद् सदस्य नै नभएको व्यक्तिलाई संसदीय दलको नेता बनाउने पार्टीले नैतिकताको कुरा गर्न नसुहाउने जिकिर गरे।
रौतहटको गरुडा नगरपालिकाको बजेट अधिवेशनको शुक्रबार उद्घाटन गर्दै मन्त्री गुप्ताले भने, ‘कर्मचारीले गल्ती गर्दा मन्त्रीले राजीनामा दिने हो भने देश कहाँ जान्छ ? आफ्नो सभापतिमाथि विचाराधीन पाँचवटा मुद्दाबारे पनि ध्यान दिनुहोला।’
उनले गृहमन्त्री लेखकलाई भने ‘स्वच्छ छवि’ भएको नेता भन्दै उनको बचाउ गरे।
मन्त्री गुप्ताले रास्वपाले बजेटजस्तो महत्त्वपूर्ण विषयमा छलफल गर्न नदिएर देशलाई नै बन्धक बनाएको आरोप लगाए। ‘जेठ १५ मा बजेट प्रस्तुत भइसक्यो, तर केही सांसदले संसद्मा छलफल गर्न दिएका छैनन्,’ उनले भने, ‘यो गैरजिम्मेवारपन हो।’
यसै सन्दर्भमा उनले लामो समयदेखि रोकिएको सङ्घीय निजामती विधेयकमा अब ‘कमा र फुलस्टप’ पनि परिवर्तन नहुने र छिट्टै पारित हुने दृढता व्यक्त गरे।
कार्यक्रममा गरुडा नगरपालिकाको तर्फबाट मन्त्री गुप्तालाई नगर प्रमुख कन्थमनि प्रसाद गुप्ता लगायतले ५१ किलोको माला लगाई सम्मान गरेका थिए।
यसैबिच, नगर प्रमुख कल्वारले आगामी आर्थिक वर्षको लागि पालिकाको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन्। नगर प्रमुख कलवारले आर्थिक वर्ष २०८२/८३ का लागि ६९ करोड २६ लाख १७ हजार ३६७ रुपैयाँको अनुमानित आय व्यय नगर सभामा प्रस्तुत गरे।
प्रकाशित: ६ असार २०८२ २०:४६ शुक्रबार